२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

कांग्रेस सांसद र मेयरमाथिको जाहेरी फिर्ता लिन माग गर्दै ज्ञापनपत्र

शुक्रवार , श्रावण १, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • कपिलवस्तु, १ साउन । कपिलवस्तु क्षेत्र नम्बर ३ का सर्वसाधारण तथा समर्थकहरूले प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख (मेयर) रजत प्रताप शाहमाथि दर्ता गरिएको मुद्दा फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उनीहरुले शुक्रबार ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालय नजिक रहेको राघवेन्द्र कम्प्लेक्समा असार २८ गते भएको घटनाको वास्तविकता बुझ्न सांसद शाह र नगरप्रमुख शाहले पहल गरेको दावी गरिएको छ । उक्त घटनालाई केही व्यक्तिले राजनीतिक प्रतिशोधको माध्यम बनाउँदै सांसद अभिषेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहविरुद्ध झुट्टा ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता गराएको आरोप ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    ज्ञापनपत्रमा घटनासँग सम्बन्धित सीताराम शर्मा (रितेश शर्मा) स्वयंले अदालत र जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको भन्दै त्यसकै आधारमा काल्पनिक घटना देखाएर राजनीतिक स्वार्थपूर्तिका लागि मुद्दा अघि बढाइएको दाबी गरिएको छ ।

    ज्ञापनपत्रमार्फत सांसद र नगर प्रमुखमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिन, निर्दोष व्यक्तिमाथि धरपकड नगर्न तथा निष्पक्ष अनुसन्धान गर्न प्रशासनसँग माग गरिएको छ।

    माग सम्बोधन नभइ मुद्दा फिर्ता नलिए वा धरपकडको प्रक्रिया अघि बढाइए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ । आन्दोलनका क्रममा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सम्बन्धित सुरक्षा निकायले लिनुपर्ने उल्लेख गरिएको छ ।

    कपिलवस्तु–३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ । सामान्य विवादको विषयलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् ।