२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

कोटहीमाईमा अस्थायी तथा ज्यालादारी कर्मचारी आन्दोलित, गाउँपालिका कार्यालयमा तालाबन्दी

शुक्रवार , श्रावण १, २०८३

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, १ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले प्रकाशित गर्नुभएको सूचनामा स्वीकृत दरबन्दीबाहेकका कर्मचारीको म्याद थप नहुने उल्लेख गरिएपछि त्यसको विरोधस्वरूप कर्मचारीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित गाउँपालिकाको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

    गाउँपालिकाका स्वयंसेवक कर्मचारी राकेश पाण्डेयले आफूहरू लामो समयदेखि निरन्तर सेवा गर्दै आएको अवस्थामा मध्यरातमा सूचना प्रकाशित गरी म्याद थप नहुने जानकारी गराइनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यति वर्षसम्म गाउँपालिकामा खटिएर हामीले राज्यको सेवा गर्यौं । तर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै मध्यरातमा सूचना प्रकाशित गरेर हाम्रो म्याद थप नहुने जानकारी दिइयो । यसले हामीलाई निकै चिन्तित बनाएको छ । अब हामी रोजगारीका लागि कहाँ जाने ?’

    शुक्रबार बिहानदेखि कार्यालय पुगेका कर्मचारीहरूले सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पार्दै विरोध जनाएका थिए । विरोधका बाबजुद सम्बन्धित पक्षबाट कुनै पहल नभएपछि तालाबन्दी गर्न बाध्य भएको कर्मचारीहरूको भनाइ छ ।

    गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले म्याद थप नहुने सम्बन्धी सूचनाबारे आफूलाई पूर्वजानकारी नभएको बताउनुभयो । उहाँले कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै कसैलाई पनि बेरोजगार नबनाउने समेत बताउनुभयो ।

    अध्यक्ष त्रिपाठीले भन्नुभयो–‘यो सूचना जारी गर्नुअघि जनप्रतिनिधिलाई कुनै जानकारी दिइएको थिएन । साथै, कार्यपालिकाबाट पनि यस्तो कुनै निर्णय भएको छैन ।’ उहाँले कर्मचारी र गाउँपालिकाबीच देखिएको विवाद संवाद र कानूनी प्रक्रियाअनुसार समाधान गरिने जानकारी दिनुभयो ।