२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘समस्या प्रशासन र सरकारलाई भन्नुहोस्, बिरामी र उनको आफन्तलाई होइन’

शनिवार , जेठ १, २०७८

भैरहवा, १ जेठ ।

कोरोना महामारीको बेला अस्पताल प्रशासनले अक्सिजन सकियो, औषधी छैन भन्दै विज्ञप्ती निकाल्ने कार्य तत्काल रोक्न लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालहरुलाई आग्रह गरेका छन् । उनले अस्पतालमा उपचारत कोभिड संक्रमीतको मनोबल गिराउने किसिमले, बिरामी र उनको आफन्तलाई तनाव हुने गरी कुनै पनि गतिविधि नगर्न समेत अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् ।

शनिबार कोरोना संक्रमित बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) र भीम अस्पताल भैरहवाको स्थलगत निरीक्षण गर्दै उनले भने, ‘तपाईहरुको समस्या हामीले बुझेका छौं । जे समस्या छ, स्थानीय सरकार, स्थानीय प्रशासन र हामीलाई भन्नुहोस् तर बिरामीलाई असर पुग्ने गरी कृपया कुनै पनि गतिविधि नगर्नुहोस् ।’

मन्त्री श्रेष्ठले कुनै पनि बहानामा यकोरोना महामारीविरुद्धको लडाइमा कसैले पनि हात उठाउन नमिल्ने समेत बताए । उनले भने, ‘सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुनेछ । यसैले सबै मिलेर यो महामारीविरुद्ध लागौं । नाफा घाटाको हिसाब पछि गरौंला  अहिले कसरी हुन्छ मान्छे बचाउनेतिर लागौं । ’

मन्त्री श्रेष्ठले अनुशासनमा रही स्वास्थ्य मापदण्ड अपनाएर सबैले एकअर्कासँग सहकार्य गरेर सकारात्मक चिन्तनका साथ अगाडी बढेमा महामारीविरुद्धको युद्धमा छिट्टै जित हासिल गर्न सकिने विश्वास समेत व्यक्त गरे । उनले कुनै पनि बिरामी उपचारको लागि आएमा नफर्काउन पनि आग्रह गरे । उनले भने, ‘अहिले विश्व कोरोना महामारीको युद्धसँग जुधिरहेको छ । यस्तो बेला  कुनै पनि अस्पतालले संक्रमीतको उपचार गर्न सक्दिन भन्न पाइँदैन । विरबामी अस्पताल आएपछि भुईमा राखेर हुन्छ की, गुन्द्रीमा राखेर हुन्छ की बेडमा राखेर हुन्छ । जहाँ राखेर भए पनि जति सकिन्छ उपचार गर्नुपर्छ । तर बिरामी फर्काउन पाइँदैन । ’

मन्त्री श्रेष्ठले अस्पतालहरुलाई स्थानिय सरकार, स्थानीय प्रशासन र प्रदेश सरकारसंग आवश्यक समन्वय गरेर अगाडी बढ्न पनि आग्रह गरे । उनले अस्पतालहरुमा देखिएको अक्सिजन समस्या छिट्टै समाधान हुने पनि बताए । उनले भने, ‘आजदेखि केही थान अक्सिजन सिलिण्डर एअर लिफ्टिङ गरेर ल्याउँदैछौं । यो निरन्तर हुन्छ ।  संघीय, प्रदेश र स्थानीय सरकार यतिबेला विकास निर्माण सबै छाडेर कोरोना महामारीमा जुटेको छ । ’

शनिबार बिहान रुपन्देहीका दुई अस्पतालको निरीक्षण पूर्व मन्त्री श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) का व्यवस्थापकीय टिमसंग अलगअलग छलफल गरेका थिए ।
छलफलका क्रममा मन्त्री श्रेष्ठले युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालसहितको टिमलाई अस्पतालमा रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न निर्देशन लिए ।

त्यसै गरी उनले भीम अस्पतालको टिम वर्क राम्रो नभएको भन्दैं मेडिकल सुपरिटेन्डेन्ट डा. शकुज्तला गुप्तालाई प्रत्येक दिन बैठक बसाल्ने, व्यवस्थापन समितति स्थानीय प्रशासन र स्थानीय सिद्धार्थनगर नगरपालिकासंग समन्वय गरेर अगाडी बढ्ने गरी योजना बनाउन र काम गर्न निर्देशन दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हितराज पन्थी, नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारी, डा. रामप्रसाद बस्याल, युसीएमएसका प्राचार्य डा. लक्ष्मी पाठक, मेडिकल सुपरिटेण्डेन्ट डा. सदनमुखी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी लगायतले कोरोना संक्रमणको विरुद्ध समुदाय, अस्पताल, नागरिक समाज, राजनैतिक दल, तीनै तहका सरकार, सञ्चार क्षेत्र, सुरक्षा संयन्त्र, प्रशासन र संघसंस्था सबैको सकारात्मक सहकार्य र सहयोगको जरुरी रहेको बताए ।