२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

गौतमबुद्ध विमानस्थलबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता गर्न सञ्जालको माग

बुधवार , आषाढ २४, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • भैरहवा, २४ असार । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता गर्न माग गरेको छ ।
    नेपाल सरकार, निजी क्षेत्र, स्थानीय नागरिक तथा सम्पूर्ण लुम्बिनी क्षेत्रको दशकौंको अपेक्षा र अरबौं रुपैयाँको लगानीबाट निर्माण भएको यस क्षेत्रको मुख्य गौरवशाली आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज पनि आफ्नो उद्देश्यअनुरुप सञ्चालन हुन नसकिरहेको अवस्थाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको सिद्धार्थ सञ्जालले जनाएको छ ।

    बुधबार काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडक राज पौडेल (गनेस) लाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले लुम्बिनी विश्व शान्तिको केन्द्र, बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्य भए पनि विमानस्थलको प्रभावकारी सञ्चालन नहुँदा यसको प्रत्यक्ष लाभ राष्ट्रले लिन नसकेको बताएको छ ।
    ‘नेपाल सरकारको ठूलो लगानी, स्थानीय तहको सहयोग तथा निजी क्षेत्रको अरबौं रुपैयाँ बराबरको लगानी विमानस्थल केन्द्रित पर्यटन, होटल, यातायात, व्यापार तथा सेवा क्षेत्रमा भएको छ । विमानस्थल सञ्चालन भएसँगै नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वासका आधारमा सयौं व्यवसायीहरुले होटल, रिसोर्ट, ट्राभल एण्ड टुर, रेष्टुरेण्ट, यातायात तथा अन्य सेवा क्षेत्रमा ठूलो लगानी गरेका थिए । तर, अपेक्षित अन्तर्राष्ट्रिय उडान नहुँदा ती लगानीहरु जोखिममा परेका छन् त्यसैले निजी क्षेत्र निराश तथा निरुत्साहित बन्दै गएको छ, ’सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले भन्नुभयो ।

    विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालको पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सहजता, विदेशी पर्यटक आगमन तथा क्षेत्रीय आर्थिक गतिविधिमासमेत नकारात्मक प्रभाव पारेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । विगतमा प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्ने, नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने तथा यसलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने प्रतिवद्धता सार्वजनिक रुपमा व्यक्त गरे पनि ती प्रतिबद्धताहरु हालसम्म व्यवहारमा पूर्णरुपमा कार्यान्वयन हुन नसकेको सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।

    यस विषयमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज तथा विभिन्न संघ–संस्थाहरुले पटकपटक ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने, आन्दोलन गर्ने, धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । यद्यपी समस्या समाधानको दिशामा अपेक्षित उपलब्धी हासिल हुन नसक्दा आम नागरिकमा निराशा बढ्दै गएको श्रेष्ठको भनाइ छ । यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल परिणाममुखी पहल गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नुभयो । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन केवल रुपन्देही वा लुम्बिनी प्रदेशको मात्र विषय नभइ समग्र राष्ट्रको आर्थिक, पर्यटन तथा विकाससँग जोडिएको राष्ट्रिय सरोकारको विषय हो, ’उहाँले भन्नुभयो ।

    सञ्जालले ज्ञापनपत्रमार्फत निम्न मागहरु राखेको छ :

    – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित तथा दिगो अन्तर्राष्ट्रिय उडान सञ्चालनलाई राष्ट्रिय प्राथमिकताको विषय घोषणा गरिनुपर्छ ।

    – अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न आवश्यक सहुलियत, शुल्क छुट तथा प्रोत्साहनका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्छ । साथै नेपाल सरकारको प्रतिबद्धताअनुसारको छुट सुविधा तत्काल दिनुपर्छ ।

    – दोहा, दुबई, आबुधावी, दमाम, रियाद, कुआलाम्पुर, दिल्ली, मुम्बई, बैंकक, लगायतका प्रमुख गन्तव्यहरुमा नियमित प्रत्यक्ष उडान सञ्चालनका लागि उच्चस्तरीय पहल गरिनुपर्छ ।

    – नेपाल सरकारकातर्फबाट विगतमा गरिएका प्रतिवद्धता तथा निर्णयहरुको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गरिनुपर्छ ।

    – विमानस्थल सञ्चालनमा देखिएका नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय समस्याहरुको पहिचान गरी तत्काल समाधान गरिनुपर्छ ।

    – लुम्बिनी प्रदेशका नागरिकलाई काठमाडौंकेन्द्रित हवाईसेवाको बाध्यताबाट मुक्त गराइ भैरहवाबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न सक्ने वातावरण सुनिश्चित गरिनुपर्छ ।

    – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा मात्र नभइ आर्थिक समृद्धि, पर्यटन विकास र लगानी प्रवद्र्धनको केन्द्रका रुपमा विकास गरिनुपर्छ ।

    – निजी क्षेत्रको लगानी संरक्षण तथा थप लगानी प्रोत्साहन गर्न विमानस्थलकेन्द्रित पर्यटन र आर्थिक गतिविधि विस्तारका विशेष कार्यक्रम ल्याइनुपर्छ ।

    – अध्यागमन कार्यालय पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ ।

    – श्रम स्वीकृति कार्यालय पूर्णरुपमा नै सुविधासम्पन्न र आधुनिक गराउनुपर्छ ।

    –  गाम्कालगायत स्वास्थ्य परीक्षण कार्यालय स्थापना गरी सञ्चालन गर्नुपर्छ ।

    – भिसा सेन्टर कार्यालय भैरहवावाट दिनुपर्छ ।

    – मेनपावर कम्पनीलाई बिना झण्झट स्वीकृति दिनुपर्छ ।

    – अन्तर प्रदेश आन्तरिक उडान बढाउँदै लैजानुपर्छ ।

    – छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकमा अन्तर्राष्ट्रिय उडान थप गदै लैजानुपर्छ ।

    – नेपाल एअरलाईन्सलगायत बुद्धिष्ट देशका बजेट एअरलाईन्स भैरहवाबाट सञ्चालन गर्नुपर्छ ।

    – वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारहरुलाई भैरहवाबाट नै उडान गर्नुपर्छ ।

    – नेपाल एअरलाईन्सले टिकट विक्री खुल्ला गरी नियमित उडान भैरहवावाट सुरु गर्नुपर्छ ।

    – कार्गो सेवा सञ्चालन गर्नुपर्छ ।

    – नेपाल एअरलाईन्सको न्यारोबोडी भैरहवामै वेस गराई दैनिक अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्छ ।

    – तत्काल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्छ ।

    – पर्यटक, पर्यटन र हवाई टिकट कारोबारमा लगाइएको मुल्य अभिवृद्धि कर (भ्याट) हटाई स्रोतमा नै लगाउनपर्छ, नत्र सर्भिस चार्जमा मात्र लगाउने व्यवस्था मिलाउनुपर्छ ।