२०८३, आषाढ २४ गते

Jul 08 2026 | २०८३, आषाढ २४ गते

सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ : सांसद अग्रवाल

बुधवार , आषाढ २४, २०८३

  • 367
    Shares
  • 367
    Shares
  • भैरहवा, २४ असार । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय खेलमैदान बन्दा यस क्षेत्रको चौतर्फी विकासमा टेवा पुग्ने भन्दै उहाँले यसका लागि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

    मंगलबार रंगशालाको निरीक्षण गर्नुहुँदै सांसद् अग्रवालले यो रंगशालालाई केवल रंगशालाका रुपमा मात्र नभइ पर्यटक भित्र्याउने ठाउँका रुपमा पनि आफूले लिएको बताउनुभयो । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि रुपन्देहीमै छ । अन्तर्राष्ट्रिय खेलमैदान निर्माण भएपछि यहाँ विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्न सकिन्छ, प्रतियोगिताहरु हेर्न दर्शक (पर्यटकहरु)को आवागमन हुन्छ, जसले पर्यटन क्षेत्रको विकासमा निश्चय पनि टेवा पुुग्छ, ’उहाँले भन्नुभयो ।

    रुपन्देही पर्यटकीय हब भएकोले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बने लुम्बिनीको विकासमा पनि टेवा पुग्ने उहाँको भनाइ छ । ‘खेलकुद र क्रिकेट रंगशालालाई छाँयामा पार्नुहुँदैन । मैले गर्न नसक्ने वचन दिदैन । प्रयास हरहमेशा गर्छु । पाँचवर्षे कार्यकालमा आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्छु । यो रंगशालालाई बजेट पार्नुपर्छ, रुपन्देहीले पाउनुपर्ने अधिकार पनि हो । खेलाडीको भविष्यको कुरा हो, ’उहाँले भन्नुभयो ।

    अर्थमन्त्री तथा भौतिक पूूर्वाधार मन्त्रीको सहयोग तथा चासोले यसपटक सिद्धार्थ क्रिकेट रंगशालामा पाँच करोड बजेट परेको उहाँले बताउनुभयो । तर, यतिले मात्रै यहाँको विकास हुन नसक्ने भएकाले बहुवर्षीय योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । सरकारले सिद्धार्थ क्रिकेट रंगशालालाई विशेष प्राथमिकता दिएको उहाँले बताउनुभयोे ।

    त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले रुपन्देहीमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र अम्पायरहरु रहेको बताउनुभयो । रुपन्देही क्रिकेट संघ नेपालकै उत्कृष्ट क्रिकेट संघको रुपमा स्थापित भएको उहाँले बताउनुभयो । ‘यसपटक यो रंगशालालाई पाँच करोड बजेट परेको छ । यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छौं, आगामी दिनमा थप बजेट विनियोजन गरी यहाँको विकास गर्न एकदमै आवश्यक छ, ’उहाँले भन्नुभयो ।

    नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले सिद्धार्थ क्रिकेट रंगशालाको विकासका लागि अझै ठूलो बजेटको आवश्यकता रहेको बताउनुभयो । उहाँले खेलकुदको विकासले पर्यटन क्षेत्रको विकास हुने र त्यसले आर्थिक समृद्धिमा टेवा पुर्याउने उल्लेख गर्नुभयो ।