२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

प्रेमको भ्रम र सम्बन्धको यथार्थ: के साँच्चै आमाबुबाको माया मात्र निःशर्त हो ?

शुक्रवार , आषाढ १९, २०८३

  • 40
    Shares
  • 40
    Shares
  • ‘आमाबुबाले मात्र निःस्वार्थ माया गर्छन्, बिहेपछि आउने बुढीले शर्त र स्वार्थ बिना औंला पनि हल्लाउँदिनन् ।’ यो वाक्य हामीले हजारौंपटक सुनेका छौं । यति धेरै कि हामीले यसलाई परम सत्य ठान्न थाल्यौं । कसैले यसमाथि प्रश्न गर्ने हिम्मतसम्म गरेनन् । तर, आज एउटा कडा प्रश्न सोध्न जरुरी छ यदि यो वाक्य यति नै अकाट्य सत्य हो भने, किन संसारमा यति धेरै वृद्ध आमाबुबा वृद्धाश्रममा रुँदै बसिरहेका छन् ? किन कतिपय छोराछोरी आफ्नै आमाबुबाको घरबाट रगतको आँसु बगाउँदै निकालिन्छन् ? किन प्रेम र रगतको नाममा जन्मिएका सम्बन्धहरू अदालतको ढोकामा पुगेर घृणामा टुंगिन्छन् ?

    सत्य त्यति सरल र सिधा छैन, जति हाम्रो समाजले हामीलाई कण्ठ गराएको छ । हामीले प्रेम जस्तो पवित्र भावनालाई मानिसको चरित्र वा स्वभावले होइन, सम्बन्धको नामले मापन गर्न थाल्यौं । आमाबुबाको ट्याग झुण्ड्याएपछि ’निःशर्त’, श्रीमान्–श्रीमती भनेपछि ‘शर्त’, र साथी भनेपछि ‘स्वार्थ’ को लेबल लगाइदिन हामीलाई कति सजिलो छ ! तर, प्रेमको वास्तविक मापन सम्बन्धको नामले होइन, मानिसको भित्री चरित्र र नियतले गर्छ ।
    हो, आमाबुवाको प्रेम संसारकै महान् र आदरणीय प्रेममध्ये एक हो, यसमा कसैको दुईमत छैन । तर, त्यसलाई ‘संसारमा निःशर्त प्रेम गर्न सक्ने एकमात्र सम्बन्ध’ घोषणा गर्नु भनेको अरू सबै सम्बन्धहरूको हुर्मत लिनु र तिनको अपमान गर्नु हो । यदि कुनै श्रीमतीले क्यान्सर लागेर ओछ्यान परेको श्रीमान्लाई उसको अन्तिम साससम्म दिशा–पिसाब सोहोरेर साथ छोडिनन् भने, त्यो के थियो ? यदि कुनै श्रीमान्ले दुर्घटनापछि जीवनभरका लागि अपांग भएकी श्रीमतीलाई संसारका सारा सुख त्यागेर काँध दिइरह्यो भने, त्यो के थियो ? यदि कुनै साथीले सारा संसारले साथ छोड्दा र हिलो छ्याप्दा पनि हात समातेर भिरबाट बचायो भने, के त्यो स्वार्थ थियो ? के हामी त्यसलाई प्रेम भन्न डराउँछौं ? कि आमाबुबाको प्रेमलाई जबरजस्ती सर्वोपरी देखाउनका लागि अरूको महानतालाई ‘कर्तव्य’ वा ‘मजबुरी’ को सस्तो नाम दिन्छौं ?

    अब पालो अर्को असहज र तीतो प्रश्नको । यदि आमाबुबाको माया सधैं निःशर्त नै हुन्थ्यो भने किन आज पनि धेरै छोराछोरी आफ्नै रोजाइको मान्छेसँग विवाह गरेकै कारण घर र समाजबाट बहिष्कृत हुन्छन् ? किन लाखौं छोरीहरू ‘लोग्ने मान्छे र समाजले के भन्छ ?’ भन्ने डरको पिँजडामा थुनिएर आफ्नै सपनाको हत्या गर्न विवश हुन्छन् ? किन धेरै सन्तानले जन्मिएदेखि युवा भइसक्दा पनि एउटै अदृश्य धम्की सुन्नुपर्छ ‘हामीले भनेको मान्छौं र हाम्रो नाक राख्छौ भने मात्र तिमी हाम्रो छोरा–छोरी हौं ।’

    सोच्नुस् त, के यो निःशर्त प्रेम हो? कि प्रेमको आवरणभित्र लुकेको एउटा क्रूर नियन्त्रण र अहंकार? जहाँ आफ्नो इच्छा पूरा नहुने बित्तिकै प्रेमको धारा बन्द हुन्छ, त्यसलाई कसरी निःस्वार्थ भन्न मिल्छ ?

    अचेल सम्बन्धहरूमा ‘हुने बेला मेरो, नहुने बेला के को ?’ भन्ने प्रवृत्ति जताततै देखिन्छ । चाहे त्यो आमाबुबा र छोराछोरीको सम्बन्ध होस् या श्रीमान्–श्रीमतीको, यदि मानिसको मनमा करुणा र चरित्र छैन भने कुनै पनि सम्बन्ध पवित्र हुन सक्दैन र यदि मानिसको चरित्र महान् छ भने, उ आमाबुबा होस्, श्रीमती होस् या बाटोमा भेटिएको अपरिचित व्यक्ति, उसले निःशर्त प्रेम गर्न सक्छ ।

    त्यसैले, अब यो अन्धविश्वासबाट बाहिर निस्कौं । आमाबुबाको नाममा हुने हरेक नियन्त्रणलाई ‘निःशर्त प्रेम’ को पगरी गुथाउन बन्द गरौं र जीवनसाथी वा साथीले गर्ने निःस्वार्थ त्यागलाई ‘शर्तको खेल’ भनेर नजरअन्दाज नगरौं । प्रेम कुनै सम्बन्धको ट्रेडमार्क होइन, यो त केवल सफा मन र निष्कलंक चरित्र भएका मानिसहरूले मात्र दिन सक्ने उपहार हो ।