२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

‘नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं अटल छ’

बिहिवार , आश्विन १५, २०८३

  • 370
    Shares
  • 370
    Shares
  • भैरहवा, १५ असोज । ७७ औं चिनियाँ राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज, लुम्बिनीले बिहीबार रुपन्देहीको भैरहवास्थित पुगता भूमि जेतवन विहारमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल र चीनबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभइ जनस्तरमा समेत गहिरो रहेको बताए । उनीहरुले आपसी समझदारी र सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले नेपाल र चीनको सम्बन्ध हिमालझैं अटल रहेको बताए ।

    कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले नेपाल र चीनबीच ऐतिहासिक रूपमा प्रगाढ सम्बन्ध रहेको बताउनुभयो । उहाँले राज्यले जनताप्रति र जनताले राज्यप्रति निर्वाह गर्ने दायित्व महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

    आफ्नो चीन भ्रमणको अनुभव सुनाउँदै उपप्रमुख अधिकारीले चिनियाँ समाजबाट अनुशासन, सामूहिक भावना र टीमवर्कको संस्कृति सिक्न सकिने बताउनुभयो । ‘म होइन, हामी’ भन्ने भावनाले चीनको विकासमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

    उहाँले नेपालसँग महत्वपूर्ण सम्पदा भए पनि त्यसको पर्याप्त प्रचार र उपयोग गर्न नसकिएको बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनीबाट आएको भन्नेबित्तिकै चिनियाँहरू उत्साहित हुने गरेको उल्लेख गर्दै उनले लुम्बिनीलाई नेपाल–चीन सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै नेपाल–चीन मैत्री समाज, लुम्बिनीका अध्यक्ष मनिष कुमार जोशीले नेपाल–चीनबीचको सम्बन्ध निकै गहिरो रहेको बताउनुभयो । उहाँले नेपालको शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा चीनले महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष जोशीले बुद्ध जन्मस्थल लुम्बिनीको विकासप्रति समेत चीनले चासो  र रुची राख्दै आएको बताउनुभयो ।

    समाजका उपाध्यक्ष खिमबहादुर खत्रीले नेपाल र चीनबीचको सम्बन्ध सरकारबीचको मात्र नभइ जनताबीचको सम्बन्धसमेत भएको बताउनुभयो । उनले चिनियाँ जनताको सुख, शान्ति र प्रगतिको कामना गर्नुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक डा. सागर न्यौपानेले चीनले हासिल गरेको आर्थिक विकास र परिवर्तनबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । एक–अर्कालाई गहिरोसँग बुझ्न सके मात्र प्रभावकारी सहकार्य हुने उहाँको भनाइ थियो । उहाँले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक स्थायीत्व महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । डा. न्यौपानेले नेपालले पनि आर्थिक विकासका लागि स्थिरता र दीर्घकालीन सोचलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनीस्थित चोंग हुवा मोनाष्ट्रीका यान वु शी र कन्फ्युसियस इन्स्टिच्युटका क्वाओ रुईले नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउनुभयो । उहाँहरूले चीन दिनप्रतिदिन आर्थिक समृद्धितर्फ अघि बढिरहेको उल्लेख गर्नुभयो । नेपाल–चीन मैत्री समाज, लुम्बिनीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उहाँहरुले बताउनुभयो ।

    कार्यक्रममा नेपाल–चीन सम्बन्ध, लुम्बिनीको विकास, दुई देशबीचको साँस्कृतिक तथा जनस्तरीय सम्बन्ध र आपसी सहकार्यका विषयमा चर्चा गरिएको थियो । 

    नेपाल–चीन मैत्री समाज, लुम्बिनीका सचिव दीपक गलामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।