बिहिवार , आश्विन १५, २०८३
भैरहवा, १५ असोज । सशस्त्र प्रहरीले बुधबार रुपन्देहीको भैरहवामा एक किलो सुनका गहना बरामद गरेको छ । सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको ७ जनाको टोलीले उक्त गहना बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको विशेष सूचनाको आधारमा सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्ति गेट चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले गहना बरामद गरेको थियो । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार २ करोड ५१ लाख ९३ हजार ३ सय ५० रुपैयाँ मूल्य बराबरका गहना बरामद भएका हुन् ।
काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेलमाथि शंका लागेर चेकजाँच गर्दा २ किलो ६ सय ५ ग्राम विभिन्न किसिमका सुन जस्तो देखिने पहेलो पदार्थबाट बनाइएका गरगहना बरामद भएको डीएसपी थापाले जानकारी दिनुभयो ।
थप जाँचका लागि इलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी नायब निरीक्षक लाल बहादुर केसीको कमाण्डमा ३ जनाको प्रहरी टोलीसमेत बोलाइएको थियो । संयुक्त रूपमा गरिएको चेकजाँचका क्रममा पटेलको साथबाट विभिन्न किसिमका गरगहना फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीले सुनचाँदी व्यवसायी संघ, रुपन्देहीलाई उक्त गहनाको परीक्षण र परिमाण खुलाउन भनेपछि त्यसक्रममा १ किलो सुन भएको प्रमाणित भएको थियो ।
डीएसपी थापाका अनुसार बरामद गहनामा ९ थान हार, ८१ थान औंठी, १३ थान चुरा, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थरसहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औंठी १४, लकेट (जन्तर) १, पोते १७, सिक्री २४ थान, बाली र जुली १ सय ८८ जोर, पत्थरसहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर, ब्रासलेट ८ पिस छन् ।
बरामद गहना र पक्राउ गरिएकी महिलालाई आवश्यक कारवाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालय, रुपन्देही बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij