आइतवार , कार्तिक २९, २०८३
काठमाडौं, २९ कार्तिक । भारतको उत्तरपूर्वी राज्य आसाममा मिनिबस र कन्टेनर ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
शुक्रवार भएको उक्त दुर्घटनामा परी अन्य धेरै यात्रु घाइते भएका छन् । आसामको गोलाघाट जिल्लास्थित काजिरंगानजिकै रोङ्गाजन क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । उक्त स्थान आसामको राजधानी दिसपुरबाट करिब २७४ किलोमिटर उत्तरपूर्वमा पर्छ ।
प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु हुनेमा कलेजका विद्यार्थीहरूसमेत रहेका छन् । विपरित दिशाबाट आइरहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा मिनिबस पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । ठक्करको प्रभावले बसको अगाडिको भाग नराम्ररी कुच्चिएको र केही यात्रु भित्रै फसेका थिए ।
दुर्घटनापछि उद्धारकर्मी तथा प्रहरीले क्षतिग्रस्त बसभित्र फसेका यात्रुको उद्धार गरेका थिए। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको छ । प्रहरीकाअनुसार मिनिबस गोलाघाटबाट नागाउँतर्फ गइरहेको थियो भने कन्टेनर ट्रक माथिल्लो आसामतर्फ जाँदै थियो ।
सोही क्रममा दुवै सवारीसाधन आमनेसामने ठोक्किएका हुन् । मिनिबसमा सवार यात्रुको यकिन संख्या तत्काल खुल्न सकेको छैन । यद्यपि प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला बसमा ३५ जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण र त्यसमा सवार यात्रुको यकिन संख्याबारे थप अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
