बिहिवार , आषाढ १८, २०८३
कञ्चनपुर, १८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीविरुद्ध दर्ता भएको गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय तथा जरिवानाको फैसला सुनाएको थियो ।
१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गालीबेइज्जतीको मुद्दामा भण्डारीलाई उच्च अदालतले एक महिना सात दिन कैद फैसला सुनाएको थियो । यसअघि पत्रकार भण्डारीलाई एक महिना कैदका साथै १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला जिल्ला अदालतले गरेको थियो ।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध भण्डारी उच्च अदालत गएका थिए। तर, उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।
अदालतको सोही फैसला कार्यान्वयन गर्न प्रहरीले भण्डारीलाई पक्राउ गरेको डिएसपी रावतले बताए। पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij