२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

विवाह भोजपछि समुदायमा कोरोना संक्रमण, एकै घरका तीनसहित ४ को मृत्यु

शुक्रवार , बैशाख ३१, २०७८

बागलुङ, ३१ वैशाख । 
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ मा एकैघरका तीन जनासहित ४ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । केही दिनअघि सामुहिक रुपमा गाँउमा विवाह भोज खाएका उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको स्थानियले बताएका छन् ।

स्थानीयका अनुसार बडिगाड गापा ४ को जलजलामा दुई हप्ताअघि विवाह भोज खाएका गाँउलेहरू अधिकांश संक्रमित भएका थिए । आजराती मृत्यु हुनेमा पनि सोहि विवाहभोजमा गएकाहरुमध्ये नै रहेको स्थानीयवासीले बताएका छन् । यस घटनापछि बडिगाड गापा र आसपासमा सन्त्रास छाएको छ भने यसक्षेत्रका अधिकांश मानिस डरले त्रसित देखिएका छन् ।

स्वास्थ्य कार्यालय बाग्लुङ्गका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबुसहित ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ्ग र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताएका छन् ।

कोरोना संक्रमितहरु बिरामी पर्न थालेपछि उपचारका लागि बाग्लुङ्ग र पोखरा पठाइएको थियो । एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाड गापाकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बाग्लुङ्ग जिल्ला प्रशासनले जेठ १५सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। 

बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखाले भने सम्पुर्ण गापाबासीलाई कम्तीमा १५ दिन घरभित्रै बसिदिन र कोरोना नियन्त्रण, रोकथाम र उपचारमा सघाउ पुर्याउन आग्रह गरेको छ ।