२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

विभिन्न पर्वले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको छ : मुख्यमन्त्री पोखरेल

शुक्रवार , बैशाख ३१, २०७८

भैरहवा, ३१ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताएका छन् । उनले विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको बताए ।

शुक्रबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ईद पर्व मनाउँदा पनि कोरोनाविरुद्धको लडाइका लागि सरकारले जारी गरेका आदेश पालना गर्दै मनाउनु उनले अपील गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसंख्यक मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको उनको भनाइ छ । ‘संवैधानिक रुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुस्लिम समुदायप्रति सम्मान व्यक्त गरेको छ । संवैधानिक व्यवस्था अनुसार मुस्लिम आयोग गठन भइ कार्यारम्भ भएको छ’–शुभकामना सन्देशमा भनिएको छ ।

संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ बनाउने दिशामा मुलुक अघि बढिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । ‘संविधान कार्यान्वयन हुँदै जादा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने विश्वास लिएको छु, ’उनले भनेका छन् ।

यतिखेर विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा रहेकोले नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारको सबै संयन्त्र प्रयोग भएको पोखरेलले बताए । ‘महामारी तीव्र फैलिएकोले त्यसको नियन्त्रणका लागि सबैको सार्थक सहयोग आवश्यक छ । तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन्, ’उनले भने ।

कोभिड-१९ को जोखिम न्युनिकरणका लागि यतिखेर निषेधाज्ञा र लकडाउन घोषणा गरिएको र लडकडाउनको पालना गरी कोरोनाविरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए । 

‘संक्रमितको उपचारलाई प्रभावकारी बनाउनु नै छ, अर्कोतिर संक्रमण हुन नदिन पहिलो प्राथमिकता दिनुपर्छ त्यसका लागि नागरिक सहयोग आवश्यक पर्छ । तसर्थ सबै कठिनाई झेलेर निषेधाज्ञाको पालना गरौं, शुभकामना सन्देशमा उल्लेख छ ।
‘कोभिड-१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु, ’उनले भने ।