२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रामग्राम नगरपालिकाद्वारा कोभिड–१९ संक्रमितलाई घरदैलोमै सेवा 

शुक्रवार , बैशाख ३१, २०७८

नवलपरासी, ३१ वैशाख ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले होम आइसोलेशनमा बसेका कोरोना संक्रमितहरुको घरघरमा  पुगेर औषधी वितरण गर्ने कामको थालनी गरेका छन् । नगरपालिकाले कोभिड–१९ संक्रमित भइ होम आइसोलेशनमा रहेका नगरपालिका भित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरुमार्फत घरमै गई परामर्श दिने र औषधीसहित स्वास्थ्य सामग्री वितरण गर्ने कार्य वडा नम्बर ४ बाट थालनी गरिएको हो   ।  

होम आइसोलेशनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल, जिकं चक्की, भिटामिन सी, भिटामिन बी टुवेल, जीवनजल आदि)सहित मास्क र जनचेतनामूलक प्रचार सामग्री लिएर नगरप्रमुख गुप्ता आफै संक्रमितको घरघर पुगेपछि संक्रमितले खुशी व्यक्त गरेका छन् । 

नगरभित्र कोभिड–१९ संक्रमित भई घरमै होम आइसोलेशनमा बसेका सबैलाई आवश्यक पर्ने न्यूनतम औषधी र स्वास्थ्य सामग्री वितरण गरिने कार्यक्रम रहेको नगरप्रमुख गुप्ताले जानकारी दिए ।गुप्तासहित स्वास्थ्यकर्मीको टोलीले संक्रमित सबैको घरघरमा पुगेर विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उनीहरुलाई आवश्यक औषधी र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो   । 

नगरपालिकाले यसबाहेक होम होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मीमार्फत परामर्श दिने गरीसेवा प्रवाह गर्ने व्यवस्था समेत मिलाइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

बिहीबार वडा नम्बर ४ का संक्रमितको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री वितरण भएपछि नगरपालिकाबाट गरिएको उक्त काम प्रशंसनीय रहेको र यसबाट कोभिड संक्रमित बिरामीले राहतको महसुश गरेको वडा नम्बर ४ का वडाअध्यक्ष मदन यादवले बताए ।
यस अगावै रामग्राम नगरपालिका वडा नम्बर ४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा नगरपालिकाले अक्सिजनसहितको २० शैयाको आइसोलेशन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।