सोमवार , आषाढ १५, २०८३
बिशन गुरुङ
स्याङ्जा, १५ असार । स्याङ्जा पुतलीबजार नगरपालिका–७ भारकोटका गुरुङ्ग र मगर बस्तीमा मौरीपालन रहेको छ । मौरीपालन गर्दै आएका स्थानीयका अनुसार वर्षायामको तुलनामा हिउँदमा उत्पादन हुने मह बढी गुणस्तरीय र स्वादिलो हुने गर्दछ । मौसम र फूलको उपलब्धताअनुसार कहिलेकाहीँ तीन महिनामै मह काट्न सकिने भए पनि कतिपय अवस्थामा ६ महिनापछि मात्र मह उत्पादन हुने गरेको छ ।
मौरीहरूले कोदो, मकै, तोरी र पैँयु लगायत विभिन्न फूलबाट रस संकलन गरी मह उत्पादन गर्ने गर्दछन् । गाउँलेहरूको भनाइअनुसार रसको खोजीमा मौरीहरू तीन किलोमिटरभन्दा टाढासम्म पुग्ने र आवश्यक परे एक रात बाहिरै बसेर पनि घारमा फर्किने गर्दछन् ।
सामान्यतया ३ देखि ६ महिनाको अवधिमा एक घारबाट २ देखि ५ किलोसम्म मह उत्पादन हुने गरेको स्थानीयहरू बताउँछन् । उत्पादन भएको मह घरायसी प्रयोगका साथै आम्दानीको स्रोतसमेत बनेको छ । यहाँ प्रयोग हुने मौरीघार सुकेको रुखको मुडा करिब ३ फिट लम्बाइ काठलाई दुवैतर्फबाट खोक्रो बनाएर तयार गरिन्छ । घारको दुवै छेउ ढुंगा र माटोले बन्द गरिएको हुन्छ भने बीच भागमा करिब एकदेखि डेढ इन्चको प्वाल बनाइएको हुन्छ । यही प्वालबाट मौरीहरू रस संकलनका लागि बाहिर जाने र घारमा फर्किने गर्दछन् ।
स्थानीय विश्वासअनुसार घारको सुरक्षाका लागि दुईवटा मौरी सधै प्रवेशद्वारमा तैनाथ रहने गर्दछन् । विषादीयुक्त फूलको रस बोकेर आएका मौरीलाई घारभित्र प्रवेश गर्न नदिने जनविश्वास समेत छ ।
मौरीहरूको संसारमा रानी मौरीको विशेष महत्व रहने स्थानीयहरू बताउँछन् । मह उत्पादन, घारको व्यवस्थापन तथा अन्य अधिकांश काम पोथी अर्थात् कामदार मौरीहरूले गर्ने गर्दछन् । आवश्यकताभन्दा बढी भाले मौरी भएमा कामदार मौरीहरूले उनीहरूलाई घारबाट हटाउने गरेको विश्वाससमेत स्थानीय समुदायमा रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij