२०८३, आषाढ ९ गते

Jun 23 2026 | २०८३, आषाढ ९ गते

समावेशीता कार्यान्वयनमा दलहरुको भूमिका बढाउनुपर्नेमा जोड

मंगलवार , आषाढ ९, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • बुटवल, ९ असार । संविधानले व्यवस्था गरेको समावेशीतालाई कार्यान्वयन गर्न राजनीतिक नेतृत्वको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । 

    राजनीतिमा समावेशीताको सवाल विषयक बहसमा राजनीतिक नेतृत्वले महिला, दलित तथा सिमान्तकृत समुदायलाई मूलधारमा ल्याउने गरी पार्टीहरुले समेत अगुवाइ गर्न नसकेको बताइएको थियो । 

    कार्यक्रममा संविधान सभा सदस्य कमला विश्वकर्माले संविधानमै भएका कतिपय व्यवस्था पनि कानून बन्न नसक्दा कार्यान्वयनमा नआएको बताउनुभयो । उहाँले बाध्य बनाएको बाहेकको अधिकार कार्यान्वयन नगर्ने र कार्यान्वयन गर्न आवश्यक कानून नबनेको बताउनुभयो । उहाँले दलित महिला र महिलाको हकमा राजनीतिक पार्टीहरुले समेत वेवास्ता गर्ने गरेको बताउनुभयो ।  

    नेकपा (एमाले) का केन्द्रीय लेखा आयोगका सदस्य बाबुराम विश्वकर्माले पार्टीमा दलित समुदायले पदाधिकारी तहमा पुग्न निकै संघर्ष गर्नुपरेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा दलित, महिला तथा सिमान्तकृत समुदायलाई उम्मेदवार बनाउने सवालमा आफूले पहल गर्ने बताउनुभयो ।

    नेपाली काँग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले दलित, आदिवासी जनजाती, महिला, मधेशी समुदायका लागि आरक्षित निर्वाचन क्षेत्रको खाँचो रहेको बताउनुभयो । उहाँले आफूले समावेशी संरचना बनाउने सवालमा पार्टीभित्र कुरा उठाएको समेत बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य टिका ओलीले महिलाहरु इमान्दार भए पनि अहिलेको निर्वाचन प्रणालीका कारण चुनाव लड्न नसक्ने बताउनुभयो । कार्यक्रममा पहिलो पाईला नेपालका अध्यक्ष गौरव खनाल, सरिता जि.सी., विद्यार्थी र अन्य सरोकारवालाहरुले प्रश्न र जिज्ञासा राखेका थिए ।

    यो कार्यक्रम निकट भविष्यमा रेडियो र टेलिभिजनबाट प्रसारण हुनेछ ।