२०८३, श्रावण २२ गते

Aug 07 2026 | २०८३, श्रावण २२ गते

अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन

मंगलवार , आषाढ ९, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोगमा ‘समाजवादी पार्टी’ दल दर्ताका लागि निवेदन दिएको हो । 

    अशोक राई अध्यक्ष रहेको पार्टीको उपाध्यक्षहरुमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दान बहादुर विश्वकर्मा रहनुभएको छ । त्यस्तै शरण कुमार राई उपमहासचिव तथा सचिव पदमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भिम बहादुर तामाङ रहनुभएको छ ।  अध्यक्ष राईले ८ जना पदाधिकारीसहित २८ जनाको केन्द्रीय समिति सदस्यहरुको नामावलीसहित दल दर्ताका लागि निवेदन दिनुभएको हो ।

    यसअघि अशोक राईको समूहले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेको थियो । सो पार्टी फुटविरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा पार्टी फुट गैरकानूनी भएको भन्दै सोविरुद्ध मुद्दा दिनुभएको थियो । सोही मुद्दाको फैसला बमोजिम सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई कानूनी मान्यता नदिएपछि अशोक राईको समूह पार्टीबिहीन बन्न पुगेको थियो । त्यसपछि राई पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो ।

    पार्टी दर्ताबारे अध्यक्ष राईले संक्षिप्त मन्तव्य दिँदै भन्नुभयो–‘हामी सांगठनिक एवं राजनीतिक रुपमा प्रतिवद्ध र संगठित नै छौं, केवल सर्वोच्च अदालतको फैसलासँगै पार्टीको कानूनी अस्तित्वमा समस्या देखिएपछि तत्काल नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हौैं ।’

    नेपाली विशेषताअनुरुपको समाजवादलाई आफ्नो राजनीतिक ध्येय बनाएको समाजवादी पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, समृद्धि र सुशासनलाई राजनीतिक कार्यदिशाको रुपमा अघि बढाउने नवगठित पार्टीका सचिव मनिकर कार्कीले बताउनुभयो । साथै उहाँले निर्वाचन अयोगबाट औपचारिक मान्यता पाएपछि संगठन निर्माण र पार्टी विस्तारलाई अभियानात्मक रुपमा देशव्यापी लैजाने बताउनुभयो ।