मंगलवार , आषाढ ९, २०८३
भैरहवा, ९ असार । भारतीय पर्यटकका बारेमा नकारात्मक प्रचार नगर्न पर्यटन व्यवसायीले आग्रह गरेका छन् । पछिल्लो समय नेपालका पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकको आवागमन बढेको तर, सामाजिक सञ्जालमा नकारात्मक कुराहरु पोष्ट भएको उनीहरुले गुनासो गरेका हुन् ।
होटल संघ पोखरा, नेपालले रुपन्देहीको भैरहवामा आयोजना गरेको ‘जाउँ है पोखरा’ (पर्यटन प्रवद्र्धन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रम) मा युट्युब लगायतका सामाजिक सञ्जालबाट भारतीय पर्यटकलाई अपमानित गर्ने खालको गतिविधि हुन थालेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा होटल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकलाई सम्मान नगर्ने र नेपाली पर्यटकलाई पर्यटक नमान्ने कुराबाट माथि उठेर अब परिवर्तन भएको बताउनुभयो । भारतीय पर्यटकको संख्या बढिरहेको र यसले नेपालको पर्यटनमा उत्साह जगाइरहेको अवस्थामा केही सामाजिक सञ्जालकर्ताहरुको व्यवहारले पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो । ‘विभिन्न आरोह अवरोहकाबीच पर्यटन व्यवसाय अघि बढेको छ । दैनिक ४० हजार पर्यटकलाई पोखरामा सेवासुविधा दिन सक्छौं । यहाँ प्रत्यक्षरुपमा १५ हजार जनाले रोजगारी पाएका छन् । ८ अर्ब बढीको लगानी पर्यटन व्यवसायमा छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको छ,’उहाँले भन्नुभयो। पर्यटकको बसाई अवधि लम्ब्याउने योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले पोखराका पर्यटकलाई भैरहवा र भैरहवा आएका पर्यटकलाई भैरहवा पठाउनुपर्ने बताउनुभयो । ‘नकारात्मक कुराको बढी प्रचार गर्नुहुँदैन । केही युट्युबरहरुले नकारात्मक कुरा फैलाएका छन् । भारतीय पर्यटकको धेरै आवागमन भइरहेको बेला केही पर्यटकबाट सामान्य कमीकमजोरी हुँदा सम्झाउनुको साटो भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नु उपयुक्त होइन, ’उहाँले भन्नुभयो । देश–विदेशमा पुगेर पर्यटकीय स्थलको प्रचारप्रसारमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराम लामिछानेले लुम्बिनी, पोखरा र चितवनमा पर्यटन क्षेत्र चलायमान बनाउन त्रिकोणीय पर्यटन प्रबद्र्दनको योजना अघि सारिएको बताउनुभयो । पछिल्लो समय भारतीय पर्यटकका लागि नेपाल प्रमुख गन्तव्य स्थल बनेको उहाँले बताउनुभयो ।
होटल एशोशियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन नै भएको बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई अनावश्यक दुःख दिन नहुने बताउनुभयो ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटकलाई अनावश्यक दुःख दिन नहुने बताउनुभयो । धेरै भन्दा धेरै भारतीय पर्यटक भित्र्याउने योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सबै पर्यटन व्यवसायी एकजुट भएर नीतिगत सुधारका लागि आवाज उठाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना छ, ’उहाँले भन्नुभयो । तत्काल उद्योग–व्यवसायमा कायापलट गर्न सक्ने सम्भावना नभए पनि पर्यटन उद्योगको भने प्रशस्त सम्भावना रहेको उहाँको भनाइ छ ।
पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका बेलहिया भएको बताउनुभयो । ‘जाउँ है पोखरा’ लाई ‘भैरहवा हुँदै जाउँ है पोखरा’ भन्ने नारा बनाउन उहाँले सुझाव दिनुभयो । भारतीय पर्यटकसँग लुम्बिनी प्रदेश सरकारले अनधिकृत रुपमा कर लिएको उहाँले आरोप लगाउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नेपालमा विभिन्न उद्देश्यले पर्यटक आउने गरेको बताउनुभयो । ‘सबै पर्यटकलाई एउटै डालोमा राखेर विश्लेषण गर्नुहुँदैन । पर्यटकीय स्थल गन्तव्यको प्रचारप्रसारमा जोड दिनुपर्छ, ’उहाँले भन्नुभयो । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकामा नेपाल पर्यटन बोर्डको स्थायी संरचना नहुनु दुःखद भएको उहाँले बताउनुभयो । ई–भिसा भएका तेस्रो मुलुकका पर्यटक बेलहिया नाका हुँदै भारत प्रवेश गर्न नपाएकोले यसतर्फ सम्बन्धीत निकायले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राजेश महोत्राले यस क्षेत्रको पर्यटनको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘पर्यटन क्षेत्रको विकासमा आन्तरिक पर्यटनको भूमिका महत्वपूर्ण छ । ठूला भाषण गरेर मात्र हुँदैन, ’उहाँले भन्नुभयो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सबै क्षेत्रका पर्यटन व्यवसायीले पोखराका व्यवसायी जस्तै अभियान चलाउन जरुरी रहेको बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पर्यटकको संख्या बढ्ने बताउनुभयो । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले चितवन, भैरहवा र पाल्पा समेटिएको वृत्तचित्र बनाउन सुझाव दिनुभयो । धेरै पर्यटक भित्रिने बेलहिया नाकामा पर्यटकको बसाई अवधि किन लम्ब्याउन सकिएन भन्नेबारे बहस आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा होटल संघ पोखराको सचिव पार्वती पाण्डे, सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष श्रीचन्द गुप्ता, ट्रेकिङ एजेन्सिज एशोशिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष कृष्ण आचार्य लगायतले भनाइ राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij