आइतवार , आषाढ ७, २०८३
भैरहवा, ७ असार । सिद्धार्थनगर नगरपालिका, घाघरा खोला विमानस्थलस्थित पितृ विसर्जनस्थलमा आधुनिक शवदाह मेसिन जडान तथा ट्रस निर्माण कार्यको उद्घाटन सम्पन्न भएको छ । फूलबारी सेवा समाज, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तथा विभिन्न दाताहरूको आर्थिक सहयोगमा उक्त संरचना निर्माण गरिएको हो ।
शनिबार आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तथा नगर प्रवक्ता मुक्तिनाथ यादवले आधुनिक शवदाह मेसिन र ट्रसको उद्घाटन गर्नुभयो । कार्यक्रमको अध्यक्षता फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ्गले गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाअध्यक्ष यादवले आधुनिक शवदाह सेवा सञ्चालनमा आउनु स्थानीयवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले फूलबारी सेवा समाजको पहल, सुझाव तथा वडा कार्यालयको निरन्तर सहयोगमा राष्ट्रिय आविष्कार केन्द्र, कीर्तिपुरमा निर्मित शवदाह मेसिन जडान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार शवदाह गृह निर्माण कार्य सम्पन्न गर्न करिब १२० दिन लागेको थियो ।
सार्वजनिक जग्गा संरक्षणमा स्थानीयवासी तथा आमा समूहको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यादवले उक्त क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडाअध्यक्ष यादवले भविष्यमा राष्ट्रिय आविष्कार केन्द्रमा निर्मित करिब २३ लाख रुपैयाँ मूल्यको अर्को मेसिन थप गर्ने योजना रहेको उहाँले बताउनुभयो । ग्यास, डिजेल वा पेट्रोलबाट सञ्चालन गर्न सकिने थप एक आधुनिक शवदाह मेसिन जडान गरी कुल तीनवटा शवदाह मेसिन सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । त्यसै गरी,लुम्बिनी प्रदेश सरकारसमक्ष २० लाख र ३० लाख रुपैयाँका योजनाहरू प्रस्ताव गरिएको उल्लेख गर्दै प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त नभए पनि वडा कार्यालयको बजेटबाट यसै आर्थिक वर्षभित्र शवदाहस्थलमा टीनको ट्रस निर्माण सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ्गले आधुनिक शवदाह मेसिन ल्याएपछि त्यसको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि आवश्यक संरचना निर्माण गर्नु चुनौतीपूर्ण रहेको स्मरण गर्नुभयो । विभिन्न दाता तथा सहयोगी संस्थाहरूको साथ र सहयोगका कारण निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै उहाँले सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले घाट क्षेत्रको सुरक्षाका लागि स्थायी रूपमा चौकीदार वा कर्मचारीको व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो । सोही अवसरमा वडाअध्यक्ष यादवले वडा कार्यालयको खर्चमा आगामी साउन १ गतेदेखि एक कर्मचारी खटाइने घोषणा गर्नुभयो । उक्त आधुनिक शवदाह मेसिनमा एकपटकमा करिब डेढ क्वीन्टल दाउरा लाग्ने र दैनिक तीनवटासम्म शव व्यवस्थापन गर्न सक्ने क्षमता रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा दुर्गा, शिव तथा कृष्ण मन्दिरका अध्यक्ष विनोद पुन, वडा सदस्यहरू हरि बहादुर के.सी., सईद अहमद धुनिया, मन्जु कुमारी चौधरी, इन्द्रमती धोवी, आमा समाजकी कार्यवाहक अध्यक्ष मैना गुरुङ्ग, सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्धबहादुर गुरुङ्ग, तमु समाजका अध्यक्ष हरिप्रसाद गुरुङ्गलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
फूलबारी सेवा समाजकी उपाध्यक्ष बबिता गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अर्जुन गुरुङले सञ्चालन गर्नुभएको थियो भने उपभोक्ता समितिका संयोजक अन्जिल गुरुङले निर्माण कार्यको समन्वय गर्नुभएको थियो ।
स्थानीयवासीलाई आधुनिक, व्यवस्थित तथा वातावरणमैत्री शवदाह सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाले क्षेत्रीय स्तरमा दाहसंस्कार व्यवस्थापनलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij