२०८३, आश्विन ३ गते

Sep 19 2026 | २०८३, आश्विन ३ गते

रूपन्देही क्रिकेट संघमा पदस्थापन

आइतवार , आषाढ ७, २०८३

  • 862
    Shares
  • 862
    Shares
  • भैरहवा, ७ असार । रूपन्देही क्रिकेट संघका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन भएको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटन र खेलकुद एकअर्काको परिपूरक भएकाले खेलकुदको माध्यमबाट नेपालमा पर्यटनको विकास गर्न सकिने बताउनुभयो । उहाँले जति धेरै खेलकुदका गतिविधि बढायो उति नै पर्यटक भित्रिने भएकाले विभिन्न खेलका प्रतियोगितालाई बढाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालालाई व्यवस्थित र सुविधासम्पन्न बनाउन र क्रिकेट क्षेत्रको विकासका लागि आफूले प्रशस्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । समग्रमा रुपन्देहीको क्रिकेट विकासका लागि १ करोड २४ लाख रुपैयाँ बजेट व्निियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

    रुपन्देही क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष हरि बहादुर थापाले संघलाई अझ पारदर्शी, जिम्मेवार र जवाफदेही बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अबको आफ्नो कार्यकालमा महिला क्रिकेटको विकासका लागि विभिन्न प्रतियोगिता र कार्यक्रम सञ्चालन गर्ने तथा सबै क्रिकेट खेलाडीको विवरणसहितको तथ्यांक तयार पारिने लगायतका योजना रहेको उहाँले सुनाउनुभयो ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमख खाँले भैरहवास्थित सिद्धार्थ क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन जरुरी रहेको र यसका लागि केन्द्र सरकारले पनि पर्याप्त बजेट उपलब्ध गराउन माग गर्नुभयो ।

    लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले पछिल्लो समयमा रुपन्देहीमा क्रिकेटको गतिविधि सशक्त रुपले अगाडि बढेको र रुपन्देही क्रिकेट संघ समाजसँग जोडिँदै अगाडि बढ्नु सकारात्मक पक्ष रहेको बताउनुभयो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष विनय राज राभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, होटल एशोसियन अफ नेपालका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, रुपन्देही क्रिकेट संघका सल्लाहकार देवराज न्यौपाने लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा रुपन्देही क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनलाई सम्मान समेत गरेको थियो ।

    रूपन्देही क्रिकेट संघको गत जेठ २५ गते सम्पन्न ३० औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा हरि बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

    संघको पाँचौं अधिवेशनका मुख्य निर्वाचन अधिकृत कुलमणि ज्ञवालीले निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराउनुभएको थियो ।