आइतवार , आषाढ ७, २०८३
भैरहवा, ७ असार । सिद्धार्थ होटल संघ, नेपालले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशिघ्र सञ्चालनको माग राख्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडक राज पौडेल (गनेस) लाई ज्ञापनपत्र बुझाएको छ । संघले उद्योगी–व्यवसायी र आम नागरिकको अपेक्षा अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा सेवा प्रवाह सुनिश्चित गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
भैरहवामा पर्यटनमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यस विषयलाई सरकारले गम्भिरताका साथ लिनुपर्ने समेत माग राख्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि निजी क्षेत्रकोतर्फबाट गर्नुपर्ने कार्य निजी क्षेत्रले गर्ने बताउनुभयो ।
वि.सं. २०७९ साल जेठ २ गते सञ्चालनमा आएको करिब ४० अर्ब लगानी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात निजी क्षेत्रले होटल तथा पर्यटन उद्योगमा खरबौं लगानी गरेको उहाँले बताउनुभयो । विमानस्थलको निरन्तर सञ्चालनपश्चात पर्यटन गतिविधि बढ्ने पर्यटन व्यवसायीहरुको अपेक्षा रहे पनि चलेका उडानहरुसमेत बन्द हुँदा यसले निजी क्षेत्रलाई थप निराश बनाएको उहाँको भनाइ छ ।
त्यस्तै संघले लुम्बिनीको विकासका लागि गर्नुपर्ने कार्यहरु तथा नेपाल भ्रमण वर्ष २०८५ को पूर्वतयारी तथा पर्यटन प्रवद्र्धनको लागि तत्काल कार्यान्वयन गर्नुपर्ने मागहरु पनि मन्त्री पौडेललाई सोही ज्ञापनपत्रमार्फत बुझाएको छ ।
ज्ञापनपत्र बुझेपछि मन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले विमानस्थल चल्नैपर्ने र नचल्ने उपाय नै नरहेको बताउनुभयो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्नुभयो । त्यसलाई सच्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij