शनिवार , आषाढ ६, २०८३
भैरहवा, ६ असार । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले इच्छाशक्ति भए मानिसलाई केही कुराले नरोक्ने बताउनुभएको छ । उहाँले बाँचुनञ्जेल कमाएर खान सकिने खालको सीप सिक्न जरुरी रहेकोमा जोड दिनुभयो।
सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित २१ दिने बेशिक फेसन डिजाइन र हाते कढाई (बुटिक) तालिमको समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
तालिमका सहभागीहरुलाई उहाँले भन्नुभयो–‘आज तपाईहरुको इच्छाशक्ति र मिहिनेत झल्किएको छ । यो तालिम सञ्चालन भएकोमा मलाई गर्वको अनुभुति भएको छ । मैले यहाँहरुलाई के गर्नुपर्छ ? कस्तो सहयोग गर्नुपर्छ, त्यसका लागि तयार छु ।’
उहाँले सीप सिकेपछि पैसा बचतसँगै आयआर्जन पनि गर्न सकिने बताउनुभयो । सीप सिकेका महिलाहरुले घरमै मेसिन राखेर काम गर्न सक्ने उहाँले बताउनुभयो । तालिम कार्यक्रमको समापन भए पनि तालिममा सहभागी महिलाहरुको लागि जिन्दगीको नयाँ सुरुवात भएको प्रदेश सभा सदस्य के.सी.ले बताउनुभयो । खर्च घटाएर भए पनि मेसिन किन्न उहाँले आग्रह गर्नुभयो । ‘फेरी अर्कोपटक एडभान्स तालिम पनि लिनुस् । सिकेका कुरा व्यवहारमा उतार्न म यहाँहरुलाई अनुरोध गर्दछु । सीप सिकेर अब किन काम गर्ने, मेरो घरमा धेरै काम छ भनेर पछाडि नहटनुस् । परिवारमा एकजनाले मात्र कमाएर खर्च धान्न ग्राहो छ, त्यसलै महिला आत्मनिर्भर हुन जरुरी छ । तालिम सिकेर व्यवसायमा जोड्न नडराउनुस्, ’उहाँले भन्नुभयो ।
महिलालाई व्यवसायिक रुपमा जोड्न घरपरिवारले साथ दिन र लगानीका लागि सहयोग गर्न जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा महिला उद्यमीका लागि सहुलीयतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराउने विषय समावेश गरेकाले यसबाट पनि लाभ लिन सकिने उहाँले बताउनुभयो ।
त्यस्तै सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका प्रमुख हरि बहादुर बिष्टले तालिमलाई महत्व दिएर २१ दिनको समय व्यवस्थापन गर्नुहुने सबै सहभागी (प्रशिक्षार्थी) लाई धन्यवाद दिनुभयो । उहाँले तालिमका लागि पहल तथा सञ्चालनका लागि वातावरण मिलाउनुहुने प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)प्रति आभार व्यक्त गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिका ८ र ९ नम्बर वडा कार्यालय र श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयले सहयोग तथा सहकार्य गरेकोमा पनि धन्यवाद ज्ञापन गर्नुभयो । तालिममा सहभागीता मात्रै ठूलो कुरा नभएको उहाँले बताउनुभयो । ‘यहाँहरुले प्राप्त गरेको सीप व्यवहारमा उतार्नुपर्छ । खेर जान नदिन तपाईहरुमा भर पर्ने कुरा हो । ममाथि सरकारले लगानी गरेको छ भनेर बोध गर्दै अघि बढ्न यहाँहरुलाई आग्रह गर्दछु । यहाँहरुको सफल व्यवसायिक जीवनको शुभकामना व्यक्त गर्दछु, ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिका–८ का वडाअध्यक्ष राजन जंग राणाले आगामी दिनमा सानातिना कपडा सिलाउन बाहिर जान नपर्ने र महिलाहरुको बचत सुरु भइसकेको देखिएको बताउनुभयो । उहाँले सहभागीहरुलाई प्रशिक्षक बन्न शुभकामना दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका–९ को कार्यबाहक वडाअध्यक्ष बसुन्धरा शर्माले सीपमूलक तालिमका लागि वडा कार्यालयले पनि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । सीप सिकेर मात्र नहुने भएकाले यसलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुभयो ।
तालिमको प्रशिक्षार्थी सुनिता कुर्मीले तालिममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको बताउनुभयो । उहाँले अत्यन्तै धैयर्तापूवर्क र मिहिनेतले सिकाउनुहुने प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो ।
अर्का प्रशिक्षार्थी उषा बनिया तालिममा धेरै कुरा सिक्न पाएको बताउनुभयो । ‘सानातिनो कपडा सिलाउन अब बाहिर जान पर्दैन, ’उहाँले भन्नुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीका शिक्षा अधिकृत भागिरथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘लुम्बिनीमा महिला, आत्मनिर्भरमा पहिला’ भन्ने नाराका साथ महिला सशक्तिकरणका लागि सिद्धार्थनगर नगरपालिका–८ का महिलाहरुलाई २१ दिने बेसिक फेसन डिजाइन र वडा नम्बर ९ का महिलाहरुलाई बेसिक हाते कढाई (बुटिक) तालिम सञ्चालन गरिएको थियो । तालिम जेठ १५ देखि असार ४ गतेसम्म सञ्चालन भएको थियो ।
ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न तालिमको सहजीकरण ( बेसिक फेसन डिजाइन) को नर्वदा पचभैया र हाते कढाई (बुटिक) तालिमको शिला शर्माले गर्नुभएको थियो ।
दुवै तालिममा गरी ५० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि.को प्रशासन प्रमुख सुनिता पाठकले जानकारी दिनुभयो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij