२०८३, जेठ २० गते

Jun 03 2026 | २०८३, जेठ २० गते

नमूना नगरप्रहरी बन्नेगरी काम गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

बुधवार , जेठ २०, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौँ, २० जेठ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगर प्रहरीलाई नमूना नगरप्रहरी बन्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । 

    बुधवार महानगर प्रहरी प्रमुखको पदोन्नति तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा उहाँले जनतासँग नम्र व्यवहार गर्दै सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो । उहाँले नगर प्रहरी काठमाडौं महानगरको ब्राण्ड एम्बेसडर भएको उल्लेख गर्दै नमूना प्रहरीको रुपमा काम गर्न आग्रह गर्नुभयो ।

    उहाँले नगर प्रहरीको कार्यशैली र व्यवहारले महानगरपालिकाको छवि निर्धारण गर्ने बताउनु भयो । कार्यवाहक प्रमुख डंगोलले नगर प्रहरीलाई जनतासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्न, सेवा नम्र व्यवहारबाट शुरु गर्न तथा चेन अफ कमाण्डको पूर्ण पालना गर्न निर्देशन दिनुभयो ।

    उहाँले बर्खायामलाई ध्यानमा राख्दै सम्भावित विपद् तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहन पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो । त्यसको लागि अन्य सुरक्षा निकायसँग समन्वय गर्न उहाँले नगर प्रहरी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले नगर प्रहरीभित्रको एकता कायम राख्नुपर्नेमा पनि जोड दिनुभयो ।

    उहाँले  नगर प्रहरीलाई दिनमा कम्तीमा तीन पटक सहरका विभिन्न क्षेत्रमा गस्ती सञ्चालन गर्न निर्देशन दिनुभयो । सडक, फुटपाथ, सडकपेटी अतिक्रमण तथा फोहोर व्यवस्थापनसम्बन्धी गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्ने उहाँको भनाई छ ।

    उहाँले नगर प्रहरीको वृद्धि–विकास, सरुवा, बढुवा तथा तह मिलानका विषय कानूनसम्मत रूपमा अगाडि बढाइने पनि बताउनु भयो । उहाँले नगर प्रहरीको कार्यक्षमता अभिवृद्धि, तालिम तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिने प्रतिवद्धता जनाउँदै वरिष्ठ–कनिष्ठको आधारमा विभेद नगरी सबैलाई सम्मानजनक अवसर प्रदान गरिने उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘नगर प्रहरी भन्नेबित्तिकै काठमाडौँ महानगरपालिकाको ब्राण्ड एम्बेसडरजस्तै हो, अनुहार नै हो । यहाँहरूले गर्नुहुने व्यवहार, काम नै काठमाडौँ महानगरपालिकालाई झल्काइरहेको हुन्छ ।

    यहाँहरू सबैजना काठमाडौं महानगरपालिकाको अनुहार हुनुहुन्छ, यहाँहरूको जिम्मेवारी अझ धेरै महत्वपूर्ण छ । त्यति मात्र नभएर एकदमै सेन्सेटिभ पनि छ । यहाँहरूले जस्तो व्यवहार गर्नुभयो, महानगरपालिकाको इमेज त्यस्तै बनाउनमा ठुलो मदत पुगिरहेको हुन्छ ।

    फिल्डमा नगर प्रहरी भइरहँदा जो कोहीलाई पनि समस्या पर्दा को छ ? भन्दा नगर प्रहरी छ, भनेर निर्धक्कका साथ समस्या पर्दाखेरि यहाँहरुलाई सम्झिने गरी काम गरिदिनु हुन अनुरोध गर्दछु । यहाँहरूले जनतासँग जोडिएर जब काम गर्नुहुन्छ, यहाँहरू सबैजनालाई निर्देशनको रूपमा नै लिनुहोला, जनतासँग जोडिएर काम गर्दाखेरि नम्रतापूर्वक, विनम्रतापूर्वक यहाँहरूले डिल गर्नुहोला । यहाँको सेवा नै नमस्कारबाट शुरु होस् ।

    यहाँहरूले दिने सेवा नम्र बोलीबाट शुरु भयो भने ५० प्रतिशत समस्या त त्यहीँ समाधान हुन्छ । साथै यहाँहरू रातिसम्म जब फिल्डमा काम गर्नुहुन्छ, त्यसको रेगुलर रिपोर्टिङ भइरहोस् । त्यसमा कुनैपनि सम्झौता नगरिकन रिपोर्टिङ गरिदिनुहोला । दिनको तीन पटकसम्म घुम्ती नगर प्रहरी टोली विशेष सहरका विशेष ठाउँहरूमा यहाँहरू घुम्ने काम गर्नुहोस् ।

    सडक, फुटपाथ, फोहोरमैला, सडकपेटी ओगटेर राखिएको व्यापार गरिरहेको छ, अथवा ओगटेर राखिएका छन् भने त्यस्ता कुराहरूलाई निरन्तर रूपमा यहाँहरूले निगरानी गरिरहनुपर्यो । यो रेगुलर कामको रूपमा दिनमा कम्तीमा तीन पटक काठमाडौँको परिक्रमा गर्ने, त्यहाँ भएका समस्यालाई तुरुन्तै समाधान गर्ने काममा यहाँहरू जुट्नुहोला

    । साथै अहिले बर्खाको समय पनि छ, यो बर्खाको समयमा कुनैपनि समयमा क्षति हुन सक्छ, कुनैपनि समयमा घटना हुन सक्छ, त्यसका लागि हामी तयार छौँ भनेर तत्पर रहनुहोला । उद्धारका लागि के के वातावरण बनाउनुपर्छ, अहिलेदेखि नै तयारी भएर बस्नुहोला । नगर प्रहरीभित्र एकता हुन जरुरी छ ।

    नगर प्रहरीले विभिन्न विभागसँग समन्वय गर्न जरुरी छ । कुनैपनि एउटा पनि विभाग छैन जुनसँग नगर प्रहरीको सम्बन्ध नहोस् अथवा समन्वय गर्न नपरोस्, त्यसकारण आन्तरिक रूपमा एकतालाई मूल मन्त्र बनाएर यहाँहरूले काम गर्नुहोला । नगर प्रहरी भनेको कस्तो हुनुपर्छ भन्दा काठमाडौं महानगरको जस्तो हुनुपर्छ भन्ने नमुना काम गर्नुहोला ।’

    काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुख विष्णुप्रसाद जोशीले महानगरका नीति निर्देशनहरु अक्षरशः पालन गर्ने बताउनु भयो । उहाँले महानगर प्रहरी ऐन कार्यान्वयनमा आएको उल्लेख गर्दै अब प्रहरीको वृत्तिविकासमा पनि ध्यान दिन महानगरलाई आग्रह गर्नुभयो । उहाँले ऐन कार्यन्वयनमा नआउँदा प्रहरीको वृत्ति विकास लगायतका कामहरु अवरुद्ध बनेको उल्लेख गर्नुभयो ।  

    उहाँले भन्नुभयो, ‘हामीसँग प्राप्त सिमित स्रोत साधनका बावजुद रात दिन नभनिकन महानगरका नीतिहरु, महानगरका सम्पूर्ण निर्देशनहरु हामीले अक्षरशः पालना गरेका छौँ । आज मलाई जुन जिम्मेवारी प्रदान भएको छ, त्यो समग्र महानगर प्रहरीका लागि गौरवको विषयको छ, भएको छ ।

    हामीलाई हाम्रो यो महानगर प्रहरी ऐन कार्यान्वयन भएको छ, यो जिम्मेवारी काँधमा मात्र होइन, यो एउटा दज्र्यानी चिन्हमा मात्र सिमित होइन, यसलाई व्यवहारमा पनि रुपान्तरण गर्ने हाम्रो अथक प्रयास रहनेछ । हामी कुनैपनि किसिमका चुनौतीहरु सामना गर्नेछौँ, नीति निर्देशनहरु पालना गर्नेछौँ ।

    हाम्रा केही प्रक्रियाहरु अवरुद्ध छन् । हाम्रो ऐनले हामीलाई गाइड गर्न अलि असहज परिस्थिति हुँदाखेरी त्यो कार्यान्वयन हुन सकेन । आगामी दिनमा जति पनि हाम्रा अवरुद्धहरु छन्, सम्पूर्ण जवानदेखि जवानदेखि एसपीसम्मका जुन जति पनि अवरुद्ध प्रक्रिया छन्, यो कमिटीले हामीलाई विश्वास गरेर यो छिटो भन्दा छिटो निराकरण हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

    महानगरले बुधवार नगर प्रहरी उपरीक्षक जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गरी जिम्मेवारी हस्तान्तरण गरेको हो ।