बुधवार , जेठ २०, २०८३
काठमाडौँ, २० जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो । पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनु भयो ।
उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनु भयो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले प्रश्न खडा भएको छ । जनताबाट अनुमोदित भएका नेता–कार्यकर्ताको पार्टीको प्रश्न हामीले यसलाई थ्योराइज गरेका छौँ । तर अहिले हामी यो निर्वाचनमा गम्भीर धक्का खाएका छौँ । यो समस्यालाई हामी कसरी सम्बोधन गर्छौं त भन्ने प्रश्न पनि हाम्रा सामु उपस्थित भएको छ । प्रतिष्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टी ।
यसरी यस्ता विषयहरूलाई हामीले पार्टी निर्माणका सन्दर्भमा संस्थागत गरेका छौँ । म कमरेडहरूसँग के राख्न चाहन्छु भने, अहिले हामीले जुन प्रकारको धक्का व्यहोरेका छौं । असफलता व्यहोरेका छौं, अघि पनि मैले भनेँ, यो असफलता र धक्कालाई हामी अस्थायी धक्काका रूपमा लिएर स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ ।
हो, त्यसै भएर हामीले विगतमा निर्वाचनपछिको परिस्थिति जस्तो परिस्थिति हामीसँग उपलब्ध थियो, त्यो परिस्थितिलाई सदुपयोग गर्दै वास्तवमा पार्टीका केही गम्भीर बैठकहरू बसेका छौँ । यसबीचमा सचिवालयका बैठकहरू बसेका छन् । सचिवालयको पछिल्लो बैठकको अध्यक्षता स्वयम् अध्यक्ष कमरेडले गर्नुभएको छ । र त्यो सचिवालयको बैठकबाट केही महत्वपूर्ण निष्कर्षहरू तथा महत्वपूर्ण प्रश्तावनाहरूलाई हामीले अघि सारेका छौँ ।
अघि अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुप¥यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ ।
यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ ।
त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’
उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
