२०८३, आश्विन ३० गते

Oct 16 2026 | २०८३, आश्विन ३० गते

अमेरिकाको ‘विरोधाभासपूर्ण’ मागका कारण शान्ति वार्ता लम्बिँदै : इरान

बुधवार , जेठ २०, २०८३

  • 871
    Shares
  • 871
    Shares
  • काठमाडौँ, २० जेठ । इरानको विदेश मन्त्रालयले अमेरिकाको नयाँ र विरोधाभासपूर्ण मागहरूका कारण युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रक्रिया लम्बिँदै गएको बताएको छ ।

    साप्ताहिक पत्रकार सम्मेलनमा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी अडानमा देखिएको अस्थिरताका कारण वार्ता निष्कर्षमा पुग्न ढिलाइ भएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘अर्को पक्षले निरन्तर आफ्नो धारणा परिवर्तन गर्ने, नयाँ र विरोधाभासपूर्ण मागहरू राख्ने तथा सञ्चारमाध्यममार्फत बाझिने खालका सन्देशहरू प्रवाह गरिरहेको अवस्थामा वार्ता प्रक्रिया लम्बिनु स्वभाविक हो ।’

    प्रवक्ता बाघेईले लेबनानमा युद्धविरामको विषय कुनैपनि अन्तिम शान्ति सम्झौताको ’अपरिहार्य’ हिस्सा भएको समेत स्पष्ट पार्नुभयो । इरान र अमेरिकाबीच ४० दिनको युद्धपछि गत अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपश्चात अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा पहिलो चरणको शान्ति वार्ता भएपनि त्यसले कुनै ठोस नतिजा निकाल्न सकेको थिएन ।

    विगतका केही हप्तादेखि दुवै पक्षले पाकिस्तानको मध्यस्थतामा शान्तिका सर्तहरू समेटिएका विभिन्न प्रस्तावित योजनाहरू आदानप्रदान गरिरहेका थिए ।

    उनीहरू युद्ध अन्त्यका लागि एक समझदारी पत्रलाई अन्तिम रूप दिने प्रयासमा रहेका छन् । यद्यपि लेबनानमा इजरायली सैन्य गतिविधिलाई लिएर इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको सन्देश आदानप्रदान प्रक्रिया तत्कालका लागि स्थगित गरेको इरानको अर्ध–सरकारी समाचार संस्था ‘तस्निम’ ले जनाएको छ ।