२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

कुवेत अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

मंगलवार , जेठ १९, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौँ, १९ जेठ । मर्मतसम्भार तथा स्तरोन्नतिको कार्य सम्पन्न भएपछि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि अरब तथा अन्तर्राष्ट्रिय वायुसेवाका लागि पुनः उडान सञ्चालन शुरु गरेको छ ।

    विमानस्थललाई चरणवद्ध रूपमा खुला गर्ने योजनाअन्तर्गत यो सेवा पुनः शुरु गरिएको हो । कुवेत न्युज एजेन्सीकाअनुसार विमानस्थलको टर्मिनल १ बाट यात्रु सेवा शुरु गरिएको छ ।

    हवाई ट्राफिक प्रवाहलाई सहज बनाउन, यात्रा प्रक्रियालाई व्यवस्थित तुल्याउन र उडान सङ्ख्यामा हुने क्रमिक वृद्धिलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तयारीहरू पूरा गरिएको छ । नागरिक उड्डयनका कार्यवाहक महानिर्देशक दुआइज अल–ओतैबीले सञ्चालनको प्रारम्भिक चरणमा प्रत्येक वायुसेवा कम्पनीलाई दैनिक एक उडानको अनुमति दिइएको जानकारी दिनुभयो ।

    उहाँकाअनुसार यो व्यवस्था सेवाको प्रभावकारिता मूल्याङ्कन गर्न र भविष्यमा थप उडानहरू विस्तार गर्नका लागि आधार तयार गर्न लागू गरिएको हो । क्षेत्रीय तनाव र द्वन्द्वका कारण गत फेब्रुअरीको अन्त्यदेखि बन्द रहेको उक्त विमानस्थल अप्रिल महिनामा चरणवद्ध रूपमा खोल्ने प्रक्रिया अघि बढाइएको थियो । 

    यसैबीच, कुवेती सेनाले सोमबार आफ्ना हवाई प्रतिरक्षा प्रणालीले ’शत्रुतापूर्ण’ मिसाइल र ड्रोनहरू सफलतापूर्वक विफल पारेको जनाएको छ । कुवेतको परराष्ट्र मन्त्रालयले यी आक्रमणहरूको कडा शब्दमा निन्दा गर्दै यसलाई मुलुकको सुरक्षा र स्थिरताका लागि गम्भीर चुनौती एवं तनाव बढाउने कार्य भएको बताएको छ ।

    स्थानीय सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान ६ बजेदेखि कुवेतका विभिन्न क्षेत्रमा तीन पटक हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए ।