मंगलवार , जेठ १९, २०८३
तिलोत्तमा, १९ जेठ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले आफ्नो पहिलो जिल्ला अनुदान (डीजी २०२५/२६–२१३) अन्तर्गत सञ्चालित ‘ह्याप्पी स्कूल परियोजना’ मार्फत रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयमा चिल्ड एण्ड प्यूरिफाइड वाटर डिष्ट्रीब्यूसन सिस्टम जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई चिसो, प्रशोधित, शुद्ध तथा पर्याप्त पिउने पानी उपलब्ध गराउने उद्देश्यले १२० लिटर र ८० लिटर क्षमताका दुईवटा मेसिन जडान गरिएको क्लबले जनाएको छ । उक्त प्रणालीले विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डीआरआर) दिनेश गैरेले सामाजिक क्षेत्रमा गरिने साना–साना प्रयासहरूले पनि समुदायमा ठूलो र दीर्घकालीन प्रभाव पार्न सक्ने बताउनुभयो । उहाँले विगतका वर्षहरूको तुलनामा यसवर्ष धेरै प्रभावकारी तथा समुदायमुखी परियोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आबिष्कार खनालले विद्यालयमा जडान गरिएका उपकरणहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यार्थीहरूको स्वास्थ्य तथा अध्ययन वातावरण सुधारमा यस परियोजनाले सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकाससँग सम्बन्धित कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक बेदनारायण भट्टराईले विभिन्न सामाजिक संस्था तथा दातृ निकायहरूको सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण टेवा पुगिरहेको बताउँदै रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनप्रति आभार व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष बाला घिमिरेले विद्यालयको आवश्यकता पहिचान गरी चिसो तथा शुद्ध पिउने पानीको व्यवस्था गरिदिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा रोटरि क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बञ्जाडेले रोटरी तथा रोट्रयाक्टले विद्यार्थी तथा शिक्षा क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । क्लबका उपाध्यक्ष विकास टण्डनको स्वागत तथा सचिव केशव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम पश्चात रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको ३४७ औं नियमित बैठक तथा डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रेजेन्टेटिभ (डीआरआर) को भ्रमण कार्यक्रमसमेत सम्पन्न भएको थियो । कार्यक्रमले क्लबको सामाजिक उत्तरदायित्व तथा समुदायप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीले बताएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
