२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

मापदण्डविपरीत सञ्चालित कोटहीमाईका ११ औषधी पसललाई कारवाही

मंगलवार , बैशाख २८, २०७८

भैरहवा, २८ वैशाख । 
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ११ क्लिनिक तथा औषधी पसललाई कारवाही गरेको छ । मापदण्डविपरीत सञ्चालित ती क्लिनिक तथा औषधी पसललाई कारवाही गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

गाउँपालिका अन्तर्गत परसहवाँ, मझगावाँ र मर्यादपुरका ११ पसललाई कारवाही गरिएको कोटहीमाई स्वास्थ्य शाखा प्रमुख मनबहादुर कुँवरले जानकारी दिए । 

दर्ता प्रमाणपत्र बिना सञ्चालनमा रहेको, चिकित्सकको प्रमाणपत्र नरहेको, अन्यत्र दर्ता भइ गाउँपालिकाभित्र संचालन भएको, बोर्डमा लेखिए अनुसारको सेवा नदिएको, क्लिनिक अनुसारको डाक्टर नभएको, अनुमति नभएका गतिविधि गरिएको, खुद्रा विक्रीको अनुमति पाएकाले थोक सप्लाई गरेका कारणले ती औषधी पसल तथा क्लिनिकहरुलाई तत्काल बन्द गरी कारवाही गरिएको कुंवरको भनाइ छ । 

त्यसै गरी कोटहीमाई–७ परसहवास्थित एउटा एग्रोभेट सेन्टर (पसल) मा शिलबन्दी गरिएको छ । उक्त पसलका सञ्चालक कोरोना संक्रमित भएको तर पनि पसल संचालन गरी सामान विक्रीवितरण गरेकोले शिलबन्दी गरिएको कुंवरले बताए । मंगलबार इलाका प्रहरी कार्यालय मझगावाँ र कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीले गाउँपालिकाभित्रका विभिन्न औषधी पसलहरुमा अनुगमन गरेको थियो ।