सोमवार , जेठ १८, २०८३
पाल्पा, १८ जेठ । काम्लेटटरी सामुदायिक वन उपभोक्ता समूह, तिनाउ गाउँपालिका–१, झिंगामारा, पाल्पाले आफ्ना उपभोक्ताहरुका लागि उद्घोषण तथा भाषणकला र माइन्यूट लेखनसम्बन्धि तालिम आइतबार सम्पन्न गरेको छ ।
तीन दिनसम्म सञ्चालित उक्त तालिममा सामाजिक अभियन्ताहरु दलबहादुर गुरुङ र बेनप्रसाद थापाले उदोषण तथा भाषणको अर्थ, सञ्चालनका विधि एवम् प्रक्रिया, कुशल उद्घोषक तथा वक्ताका विशेषता, गुण, बैठक, सञ्चालन पद्दति र माईन्यूट लेखनसम्बन्धि विषयवस्तुहरुमा सैद्वान्तिक एवम् प्रयोगात्मक तवरले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ–१ का जनप्रतिनिधि यमबहादुर घर्तीले गाउँघरमा यस्ता खालका कार्यक्रम सञ्चालन गर्दा स्थानीयहरुले सहजै सिक्न पाउने र प्रभावकारी हुने बताउनुभयो । सहभागीहरुले सिकेका विषयवस्तुहरुलाई जीवनोपयोगी शिक्षाका रुपमा ग्रहण गर्दै परिणाममुखी कार्यान्वयनमा घर्तीले जोड दिनुभयो ।
समापन कार्यक्रममा सहभागीहरुका तर्फबाट भागिरथी न्यौपाने, तेजकुमारी तरामू, कुसुम थापा र संगीता सुस्लिङले तालिमका अनुभव र अनुभूति प्रकट गर्दै समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालित उक्त तालिमले आफूहरुमा भोक जगाएको र पुनर्ताजगी तालिमपछि थप ज्ञान,सीप हासिल हुने समेत उल्लेख गर्नुभयो ।
काम्लेटटरी सावउसका अध्यक्ष गुनबहादुर सुस्लिङको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रमको सञ्चालन सिकारु सहभागी इन्दिरा रानाले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
