शुक्रवार , जेठ १५, २०८३
काठमाडौँ, १५ जेठ । युगाण्डा सरकारले छिमेकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा फैलिएको इबोला भाइरसको संक्रमण आफ्नो देशमा भित्रिन नदिन कंगोसँग जोडिएको सीमा नाका तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ ।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डायना एटवाइनले बुधबार यस निर्णयबारे जानकारी दिँदै पूर्वी कंगोमा इबोलाको प्रकोप बढ्दै गएकाले उच्च शतर्कता अपनाउन सीमा बन्द गरिएको बताउनुभएको हो । सरकारको यस कदमसँगै अब आधिकारिक र अत्यावश्यक जनशक्तिलाई मात्र सीमा पार गर्ने अनुमति दिइनेछ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार युगान्डामा हालसम्म इबोलाको नयाँ संक्रमित फेला परेका छैनन्, तर अधिकारीहरूले उच्च सतर्कता कायम राखेका छन् । नयाँ नियमअनुसार कंगोबाट हवाई वा स्थल मार्ग हुँदै युगान्डा प्रवेश गर्ने सबै यात्रुहरूले अनिवार्य रूपमा २१ दिनको ‘सेल्फ–आइसोलेसन’ मा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
संक्रमणको जोखिम न्युनिकरणका लागि मन्त्रालयले सीमा नाका र विमानस्थलहरूमा ‘लोकेटर फोन’ प्रणालीसहितको सुदृढ निगरानी संयन्त्र स्थापना गरेको छ। यस प्रणालीमार्फत प्रत्येक यात्रुको विस्तृत विवरण र उनीहरू पुग्ने गन्तव्यको तथ्याङ्क सङ्कलन गरिने सचिव एटवाइनले जानकारी दिनुभयो ।
यसैबीच, सरकारले राजधानी कम्पाला, वाकिसो र सीमावर्ती जिल्लाहरूमा समुदायस्तरमा जनचेतना र सार्वजनिक सहभागिताका कार्यक्रमहरूलाई तिब्रता दिएको छ । कंगोसँग जोडिएका खुला सीमा नाकाहरूका कारण आवतजावत सहज हुने र यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।
अधिकारीहरूले सामाजिक सञ्जालमार्फत पनि इबोलाका लक्षण र रोकथामका उपायबारे सर्वसाधारणलाई शिक्षित गराइरहेका छन् । स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई शान्त रहन, सतर्कता अपनाउन र इबोलाको जस्तो लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानकारी गराउन अपिल गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
