२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

‘१० वर्षमा ३० हजार मेगावाटको लक्ष्य भेटाउन ‘सनसेट ल’ अनिवार्य’

सोमवार , जेठ ११, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • काठमाडौं, ११ जेठ । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखे पनि वर्तमान प्रशासनिक र कानूनी उल्झनका कारण त्यो पूरा हुन कठिन छ ।

    लक्ष्य प्राप्तिका लागि विकासका बाधक ऐनहरूलाई निश्चित समयका लागि निष्क्रिय पार्न ‘सनसेट ल’ जरुरी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निष्कर्ष छ ।

    इप्पानका उपमहासचिव प्रकाश दुलालले ऊर्जा क्षेत्रको विकासका लागि जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमिसुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धि दर्जनौँ ऐनहरू बाधक रहेको बताउनु भयो । यी सबै ऐनका कतिपय प्रावधानलाई १० वर्षका लागि थाती राखेर विकासलाई गति दिनु नै अहिलेको एकमात्र विकल्प भएको उहाँको तर्क छ । 

    दुलालकाअनुसार जलविद्युत विकासमा सबैभन्दा ठुलो अवरोध वन ऐनले सिर्जना गरेको छ । १०० मेगावाटसम्मका आयोजना र १३२ केभीसम्मका प्रशारण लाइनका लागि वातावरणीय प्रभाव मूल्यांकन आवश्यक नपर्ने गरी प्रारम्भिक वातावरणीय परीक्षण  बाटै काम अघि बढाउने व्यवस्था गर्नुपर्छ ।

    ‘अहिले रुख कटानका लागि जग्गा नदिएसम्म प्रक्रिया अगाडि बढ्दैन, जसले गर्दा मन्त्रिपरिषद्को निर्णयपछि पनि आयोजना २–३ वर्ष रोकिन्छन्,’ दुलालले भन्नुभयो, ‘पहिले रुख काट्न दिने र जग्गा सोधभर्नाका लागि २–३ वर्षको समय दिने प्रावधान ल्याउनुपर्छ ।’

    उहाँकाअनुसार यस्तै, नेपालका अधिकांश नदीहरू राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र भएर बग्ने भएकाले करिव १९ हजार मेगावाटका आयोजनाहरू त्यहाँको कडा कानुनका कारण रोकिएका छन् ।

    राष्ट्रिय निकुञ्ज ऐन संशोधन गरी यस्ता क्षेत्रमा जलविद्युत आयोजना निर्माणलाई खुला गर्नुपर्छ । रुख गणनाको प्रक्रियालाई झन्झटिलो नबनाई स्वीकृत आइइ र इआइएलाई नै आधिकारिक मानेर डिभिजन वन कार्यालयबाट सिधै कटान आदेश दिने व्यवस्था गर्नुपर्छ ।

    ८० खर्ब लगानी कसरी जुटाउने ?

    ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न उत्पादनमा ६० खर्ब, प्रसारण लाइनमा १२ खर्ब र वितरण संरचनामा ८ खर्ब गरी कुल ७५ देखि ८० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ । यति ठुलो पुँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको दुलालले बताउनु भयो । 

    ‘विदेशमा रहेका नेपालीको रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन ५–१० लाख लगानी गर्ने साना लगानीकर्तालाई प्रवद्र्धक शेयरमै समेट्नुपर्छ र उनीहरूको सेयरलाई क्ष्एइ सरह सूचीकरण र कारोबारको सुविधा दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

    आयोजनाको ६०–७० प्रतिशत काम सकिएपछि नै  आइपीओ निष्कासन गर्न पाउने र साना लगानीकर्ताका लागि ‘लकिङ पिरियड’ हटाउनुपर्ने माग पनि उहाँको छ । साथै, १० वर्षका लागि जलविद्युतमा गरिने लगानीको आयस्रोत नखोजिने व्यवस्था गर्नुपर्ने उहाँले बताउनु भयो ।

    दुलालकाअनुसार भूमिसुधार ऐनको ७० रोपनीको हदबन्दीले ठूला आयोजना र प्रशारण लाइन निर्माणमा अवरोध पु¥याएको भन्दै आइइ र इआइएले तोकेको जग्गा प्राप्तिमा हदबन्दी नलाग्ने व्यवस्था गर्नुपर्छ  । 

    दुलालले भन्नुभयो, ‘हामी अन्तर्राष्ट्रिय अभिसन्धिहरूमा बाअिधएका छौँ, जुन नेपालको कानुनभन्दा माथि हुन्छन् ।  तर १० वर्षका लागि विशेष कानुन बनाएर यी बाधा हटाउँदा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि असर पर्दैन र १० वर्षपछि स्वतः पुराना कानुन क्रियाशील हुने हुँदा विकासले गति लिन्छ ।’

    हाल राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको नेतृत्वमा गठित समितिले यसबारे मस्यौदा तयार गरिरहेको छ । उपमहासचिव दुलालकाअनुसार  कानूनी अड्चनहरू नफुकाउने हो भने सरकारको ३० हजार मेगावाटको लक्ष्य कागजमै सीमित हुने देखिन्छ । –न्युज एजेन्सी नेपाल