२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

भैरहवालाई पर्यटनको हब बनाउनुपर्नेमा जोड

आइतवार , जेठ १०, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, १० जेठ । रुपन्देहीको भैरहवालाई पर्यटनको हब बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार भैरहवा (सिद्धार्थनगर) मा पर्यटकको बसाई अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीले आफ्नो तेस्रो स्थापना दिवसको पूर्व संध्यामा भैरहवामा आयोजना गरेको स्थानीय विकास र शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको नजिकमा अवस्थित सिद्धार्थनगरले व्यापार, पर्यटन र लगानीको केन्द्रका रुपमा विशेष महत्व राख्ने बताउनुभयो । उहाँले लगानी, पर्यटन र व्यापारलाई प्राथमिकता दिइ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विकासको दृष्टिकोणले पहिलाको भैरहवा र अहिलेको भैरहवामा धेरै फरक रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्र आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सीमित स्रोतसाधनका बाबजुद नगरपालिकाले कार्यसम्पादन गरिरहेको बताउनुभयो । नगरपालिकाले करको दर नभइ दायरा बढाउने उहाँले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले शान्ति बिना विकास सम्भव नभएको बताउनुभयो । उहाँले सूचना प्राप्त गरिसकेपछि ‘रेसपोन्स’ गर्नु प्रहरीको दायित्व रहेको बताउनुभयो । शान्ति सुरक्षा काम गर्न प्रहरीलाई नागरिकको साथ र सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

    पर्यटन व्यवसायी संजीव जोशीले भैरहवालाई पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय बजारलाई प्रतिष्पर्धी बनाउनुपर्ने माग गर्नुभयो । ‘भैरहवा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन रात्रीकालीन बजारसहित विभिन्न कार्यक्रम गर्नुपर्छ । यस्तो गर्दा भैरहवालाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ, ’उहाँले भन्नुभयो ।

    नागरिक सरोकार मञ्च, रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    व्यवसायी गोपाल भण्डारीले निजी क्षेत्रलाई सरकारको साथ आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउने गरेको बताउनुभयो । पर्यटकलाई सुरक्षाको प्रत्याभूति हुनुपर्ने उहाँले बताउनुभयो।

    नेपाल अडिटर्स एशोसियशनका केन्द्रीय सल्लाहकार गोविन्द प्रसाद रेग्मीले भरपर्दो सुरक्षासहित रात्रीकालीन बजार सञ्चालन गर्न सकिए पर्यटकको बसाई अवधि लम्ब्याउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘जहाँ पर्यटकले सुरक्षित महसुस गर्छन्, त्यहाँ समृद्ध शहरको ढोका खुल्छ ।’

    आस्था महिला उद्यमी संघ सिद्धार्थनगर, रुपन्देहीको अध्यक्ष माया खनालले पार्किङ व्यवस्थापनमा ध्यान दिन नगरपालिकासँग आग्रह गर्नुभयो ।

    स्थानीय विकास रायमाझीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सिद्धार्थ सञ्जालले निरन्तर आवाज उठाइरहेको बताउनुभयो । उहाँले सिद्धार्थनगरको विकासका लागि जनप्रतिनिधि र नगरबासी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    सिद्धार्थ सञ्जालका कोषाध्यक्ष सतिश कुमार कौशल (दीपक) ले स्थानीय सरकारले पनि उद्योगी–व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायी कपिलदेव काफ्लेले व्यवसायीलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताउनुभयो ।

    होटल व्यवसायी टेक बहादुर घर्तीले ढुक्कका साथ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायी हरिश सेठियाले स्थानीय सरकारले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाह, सिद्धार्थ सञ्जाल, रुपन्देहीका उपाध्यक्ष डा. शान्त कुमार शर्मा लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम संयोजक तथा सिद्धार्थ सञ्जालका कार्यसमिति सदस्य केशवराज ज्ञवालीको स्वागत तथा महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।