२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

क्यालिफोर्नियामा रासायनिक ग्यास चुहावट

आइतवार , जेठ १०, २०८३

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं, १० जेठ । अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित एक एयरोस्पेस उत्पादन केन्द्रमा औद्योगिक रसायन चुहावट भएपछि करिब ४० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान (इभाकुएसन) आदेश दिइएको छ ।

    ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ सहरमा रहेको ‘जीकेएन एयरोस्पेस’को प्लान्टमा रहेको भण्डारण ट्याङ्कबाट ग्यास चुहावट भएपछि ठुलो विष्फोट वा विषाक्त फैलने डरले स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको हो ।

    अधिकारीहरूका अनुसार बिहीबार दिउँसो उक्त उद्योगको शीतलीकरण प्रणाली (कुलिङ सिस्टम) मा समस्या आएपछि ‘मिथाइल मेथ्याक्राइलेट’ नामक रसायन रहेको ट्याङ्क अत्यधिक तात्तिएर हानिकारक बाफ उत्सर्जन हुन थालेको थियो ।

    मिथाइल मेथ्याक्राइलेट एक अत्यधिक प्रज्वलनशील रसायन हो, जसको प्रयोग एक्रिलिक प्लास्टिक र एयरोस्पेसका पार्टपुर्जा निर्माणमा गरिन्छ । यसबाट गार्डेन ग्रोभसहित अनाहिम, बुएना पार्क, साइप्रस, स्ट्यान्टन र वेस्टमिन्स्टर लगायतका क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै गार्डेन ग्रोभ एकीकृत विद्यालय जिल्लाका धेरै विद्यालयहरू बन्द गरिएका छन् ।

    आपतकालीन टोलीले ट्याङ्क फुट्न सक्ने वा विष्फोट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उच्च शतर्कता अपनाइरहेका छन् । रसायन ढल वा नजिकैका जलस्रोतमा मिसिन नदिन बालुवाका बोराहरू राखेर अवरोध सिर्जना गरिएको छ । 

    हालसम्म यस घटनामा कुनै मानवीय क्षति वा कोही घाइते भएको विवरण प्राप्त भएको छैन । यद्यपि, स्वास्थ्य अधिकारीहरूले यो रसायनको सम्पर्कमा आउँदा श्वासप्रश्वासमा समस्या, चक्कर लाग्ने र वाकवाकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिएका छन् । विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई यसले गम्भीर असर पार्न सक्ने बताइएको छ ।

    अमेरिकी वातावरण संरक्षण एजेन्सी र दक्षिण तटीय वायु गुणस्तर व्यवस्थापन जिल्लाले उक्त क्षेत्रको वायुको गुणस्तर निरन्तर अनुगमन गरिरहेका छन् । 

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको कार्यालयले घटनाको बारेमा जानकारी लिएको र राज्यका आपतकालीन निकायहरूले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ । विष्फोट वा थप चुहावट रोक्नु नै आफूहरूको मुख्य प्राथमिकता रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।