२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

चार महिनामा ११५ जनाको उद्वार

आइतवार , जेठ १०, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, १० जेठ । शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाले पछिल्लो चार महिनामा ११५ जना नेपालीको उद्वार गरेको छ । बेचबिखन र शारीरिक श्रम शोषणको जोखिममा परेका ११५ जना नेपाली नागरिकको उद्वार गरेको हो ।

    सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा रुपन्देहीका विभिन्न सीमा नाका र भारतका विभिन्न सहरहरूबाट उनीहरूको उद्धार गरिएको संस्थाको मानव बेचबिखन रोकथाम परियोजना संयोजक सत्य नारायण यादवले जानकारी दिनुभयो । परियोजना संयोजक यादवका अनुसार २६ जनालाई भारतका विभिन्न सहरहरूबाट उद्वार गरी स्वदेश फर्काइएको छ । 

    त्यस्तै अवैधरूपमा भारततर्फ लैजान लागिएको अवस्थामा रुपन्देहीका विभिन्न सीमा नाकाहरूबाट ८९ जनालाई उद्वार गरिएको छ । भारतबाट उद्वार गरिएका २६ जनामा ९ जना पुरुषसमेत छन् । यसअघि सन् २०२५ मा यस शाखाले ३ सय ४९ जनाको उद्वार गरी १ सय ९७ जनालाई पारिवारिक पुनर्मिलन गराएको थियो ।

    शुभ अवसर ग्राम नेपालले भारतमा मानव बेचबिखनविरुद्ध कार्यरत संस्था ‘किन इण्डिया’ सँग सहकार्य गरी जोखिममा परेकाहरूको उद्वार, स्वदेश फिर्ती र पुर्नस्थापनाको काम गर्दै आएको छ । परियोजना संयोजक यादवका अनुसार पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको स्वरुप तथा शैली बदलिएको छ । 

    विगत १५ वर्षदेखि भारतमा रहेर श्रम शोषण र बेचबिखनमा परेका नेपालीहरूको उद्वारमा सक्रिय ‘किन इण्डिया’ का संस्थापक नवीन जोशीले भारतमा नेपाली बालबालिकाहरूको अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको बताउनुभयो। ‘नेपाल सरकारले जान प्रतिबन्ध लगाएका देशमा पनि नक्कली कागजात बनाएर लगिएको पाइएको छ, ’उहाँले भन्नुभयो–‘सरकारी निकायले यसलाई गम्भिरतापूर्वक लिनुपर्छ । उहाँका अनुसार बेचबिखनमा परेका साना बालकहरुलाई विभिन्न जोखिमपूर्ण कार्यमा पनि लगाउने गरिएको छ ।’