सोमवार , जेठ ४, २०८३
भैरहवा, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नसर्ने रोग स्क्रिनिङ तथा जनचेतना कार्यक्रम सुरु गरेको छ । ३० वर्षमाथिका समुदायस्तरमा बढ्दो नसर्ने रोगहरु (उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी रोग आदि) को रोकथाम, पहिचान तथा व्यवस्थापनका लागि सोमबारदेखि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार सोमबार कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवालीले नगर क्षेत्रभित्र रहेका १० हजार बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
त्यसै गरी नगरपालिकाले वैशाख ५ देखि ७ गतेसम्म बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ । प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार उक्त शिविरमा महिला रोग विशेषज्ञ सेवा, छाला रोग विशेषज्ञ सेवा र फिजिसियन विशेषज्ञ सेवा प्रदान गरिनेछ ।
जसअनुसार जेठ ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका–१ बेलहिया, जेठ ६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–९ मिश्रौलिया र जेठ ७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–११ भुजौलीमा शिविर सञ्चालन हुनेछ । शिविर बिहान ९ः३० बजेदेखि सुरु हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
