२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

पञ्चकन्या रूपन्देही सुपर लिग : वेष्टर्न क्रिकेट क्लब सेमीफाइनलमा

सोमवार , जेठ ४, २०८३

  • 448
    Shares
  • 448
    Shares
  • भैरहवा, ४ जेठ । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ को सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न सेमीफाइनल पुगेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर २ सय १५ रन बनायो । उसका लागि प्रज्जवल थापाले ४६, रन्जित खत्रीले ४१, दीपेश रोक्काले ४०, सुमित नेवारले ३५, मिर्नाल गुरुङले १५ र कलम अली मुसलमानले ११ रन बनाए । बलिङमा नेपथ्य तिलोत्तमाका सागर भण्डारी, मौसम ढकाल र आशुतोष पाण्डेले समान ३–३ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले २५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १३ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा वेष्टर्नका सुझाव थापाले ४, कलम अली मुसलमानले ३, अभिषेश गौतमले २ तथा देव खनालले १ विकेट लिए । 

    नेपथ्यका अमन बोहराले २३, सन्दीप यादवले २२, विकल क्षेत्रीले १३, कुशल ढकालले ११ र लक्ष्मण कुमालले १० रन बनाए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । त्यसै गरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रवि कुमार रौनियार, प्रतीक ट्रेड लिंक र व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।