शनिवार , बैशाख २६, २०८३
भैरहवा, २६ वैशाख । सि.बि. पब्लिक जुनियर रेडक्रस सर्कल, सि.बि. पब्लिक बाल क्लब एवं सि.बि. पब्लिक हाई स्कूल परिवारको संयुक्त आयोजनामा शुक्रबार हेल्मेटको बेल्ट अनिवार्य लगाउने जनचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–७ स्थित विद्यालय अगाडि कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल तथा सि.बि. पब्लिक जुनियर तथा युवा रेडक्रस सर्कलका संरक्षक उदय कुमार मल्लिकले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीले पछिल्लो समय सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले यो महिनामा सवारी दुर्घटनाबाट ६ जनाको ज्यान गएको र जसमध्ये ५ जना दुईपांग्रे (मोटरसाइकल चालक) रहेको बताउनुभयो । उहाँले लापरवाही अहेल्मेट लगाउँदा बेल्ट (फित्ता) नलगाउँदा टाउकोमा चोटपटक लागि सवारी दुर्घटना भइ मृत्युसम्म हुन सक्ने भएकोले अनिवार्य हेल्मेट तथा फित्ता लगाउन आग्रह गर्नुभयो । उहाँले सि.बि. पब्लिक स्कूलले अग्रसरता देखाएको भन्दै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका निवर्तमान सभापति दीपक क्षेत्री न्यौपानेले रेडक्रसले विपद्मा परेका व्यक्तिहरुलाई सेवा गर्ने, राहत सामग्री वितरण गर्ने र आवश्यक भएका व्यक्तिहरुलाई रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश कोषाध्यक्ष महेश भुर्तेलले सि.बि. पब्लिक स्कूले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तो कार्यक्रमले विद्यार्थीहरुले सेवा भावना कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा सिक्न सक्ने बताउनुभयो ।
रेडक्रस सिद्धार्थ उपशाखाका सचिव राम प्रसाद सापकोटाले सि.बि. पब्लिक स्कूलले राम्रो कार्यक्रम गरेको बताउनुभयो ।
सि.बि. पब्लिक बाल क्लबको अध्यक्ष कक्षा १० मा अध्ययनरत छात्रा विनिता वि.के.को अध्यक्षता तथा सि.बि. पब्लिक जुनियर रेडक्रस सर्कल कक्षा ९ मा अध्ययनरत छात्रा समृद्धि मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म सञ्चालित कार्यक्रममा सिद्धार्थ राजमार्ग (विद्यालय अगाडि पूर्वपट्टी लेन) मा २ हजार ७ सय १७ वटा मोटरसाइकल गुडेको थियो । जसमध्ये ४८५ जना अर्थात१७ दशमलव ८५ प्रतिशतले हेल्मेटमा बेल्ट नलगाएको पाइएको विद्यालयले जनाएको छ । त्यस्तै ७७ जनाले हेल्मेट नै लगाएका थिएनन् ।
विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकका अनुसार दुईजना विद्यार्थीहरुले विपरीत दिशाबाट आइरहेका मोटरसाइकलको संख्या गनेका थिए । त्यस्तै दुईजनाले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल चालकले हेल्मेटमा बेल्ट लगाएको/नलगाएको चालकको संख्या गन्ने, ८ जना विद्यार्थीहरुले बेल्ट नलगाएका चालकलाई रोकेर पानी खुवाएर विद्यार्थी आफैले हेल्मेटको बेल्ट लगाइदिएका थिए । कार्यक्रममा विद्यार्थीहरुले मोटरसाइकल चलाउँदा सधै हेल्मेटको बेल्ट अनिवार्य लगाउन अनुरोध गरेका थिए ।
कार्यक्रममा सोही बाटो हिंड्ने सर्वसाधारणलाई निःशुल्क पानी वितरण गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij