सोमवार , बैशाख २१, २०८३
फुर्सदमा, म भर्खर आधा घण्टा अगाडि बिहान कलेज र दिउँसोको स्कूल अनि तीनवटा ब्रतबन्धमा सहभागी भएर घर फर्कें, काम पाइनँ, केही कोरिहाले, बानीले ।
शुभ सन्ध्या,
म गुल्मीको उकालो–ओरालो, धुलाम्मे बाटो र सरल जीवनबाट २०५५ सालतिर बटौली झरेको मान्छे । भात खान नपाएर होइन, भातले मात्तिएर, केही बन्ने, केही गर्ने, स्नातक पढ्ने हुटहुटीले । त्यो दिन सम्झँदा अझै पनि मन कताकता भिज्छ । घर छोड्दा काँधमा झोला मात्र थिएन, सपना, डर, र केही अधुरा विश्वासहरू पनि बोकेको थिएँ ।
कहिलेकाहीँ लाग्छ—मेरो जीवनका पाना खोलिदिऊँ, सबै पीडा, संघर्ष, हाँसो र आँसुहरू शब्दमा पोखिदिऊँ । तर, फेरि मन चुप लाग्छ ।
मेरो कथाले कसैको घाउ झन् बल्झाइदिन्छ कि ? मेरो भोगाइले कसैको मौनता तोडिदिन्छ कि ? त्यसैले, आजसम्म म आफैंसँगै मेरो कथा लुकाएर बसेको छु । साथीहरूले जबरजस्ती झकझक्याउँदा कहिलेकाहीँ मन भन्छ ‘लेखिदेऊ, अब नरोकी ।’
नारायणप्रसाद पन्थ दाजी, सायद कुनै दिन म आफ्नै कथा पढेर आफैं रोउनेछु र त्यही दिन अरूले पनि मेरो जीवनको धड्कन महसुस गर्नेछन् । जीवनले मलाई धेरै मोडहरूमा उभ्यायो । प्राइभेट जागिर गरें, सरकारी जुनियर अधिकृत बनें । तर, मनले नस्वीकारेको बाटो लामो हिंड्न सकिनँ, छोडें ।
पैसाको पछि कहिल्यै दौडिनँ । तर पैसाले मान्छेलाई कसरी बदल्छ भन्ने नजिकबाट देखें । मेरो जीवनका कथाहरू । कुनै घाउजस्ता छन्, छुनासाथ पोल्छन्, कुनै मलहमजस्ता, सम्झँदा पनि मन शान्त हुन्छ । हेपाइका दिनहरू पनि थिए र सम्मानका क्षणहरू पनि । यदि ती सबै उघार्ने हो भने सायद तपाईं आँसु र मुस्कानबीच हराउनुहुनेछ ।
नवज्योति MithooChhetri दाजुबाट सुरु भएको मेरो शैक्षिक यात्रा सजिलो थिएन । तर, अर्थपूर्ण थियो । त्यो दिन, जब मैले मजदुर र मालिकबीचको दूरी बुझें । त्यस दिनदेखि मेरो दृष्टि फेरियोत्यसपछि म जहाँ उभिएँ । मजदुरको पक्षमा सतिसालझैं अडिग उभिएँ । म कहिल्यै सत्ता पक्ष भइनँ । किनकि मेरो मनले सधैं कमजोरको पक्ष रोज्यो । अन्याय र अत्याचारविरुद्ध जहाँ आवाज उठ्यो, त्यहाँ मेरो पाइला आफैं पुग्थ्यो । महिला हिंसा र जातीय विभेदविरुद्ध लड्दा मैले आधा नेपालका सडक र गल्ली चिनेँ । कहिलेकाहीँ लाग्थ्यो, म यात्रा गरिरहेको छैन, म आफैंलाई खोजिरहेको छु ।
मेरो जीवनको सबैभन्दा पवित्र पहिचान—शिक्षक । यो केवल पेशा होइन, मेरो अस्तित्व हो । सायद म ती शिक्षकहरूमध्ये पर्छु जसले बिदाभन्दा जिम्मेवारीलाई बढी माया गर्छ । यो वर्ष पनि १० दिन बिदा नलिई विद्यार्थीहरूको भविष्यसँगै बाँचेको छु ।
विदेशी कार्यशालाहरू, भारत–श्रीलंका–नेपालका गल्लीहरू, हजारौँ विद्यार्थीहरूको सपना ,यी सबै मेरो जीवनका पाठशाला बने । तर यति धेरै देख्दा–बुझ्दा पनि, नेपालको शिक्षाको वर्तमान देख्दा मन अझै कहिलेकाहीँ चिसिन्छ ।
आज, मभित्र न ठूलो आश बाँकी छ, न कुनै गहिरो निराशा । म शान्त छु । तर, भित्र कतै एउटा आगो अझै बलिरहेको छ । मैले हेपाइ पनि सहेँ, दबाब पनि झेलेँ, तर कहिल्यै झुकेको छैन । किनकि मेरो विश्वास अझै जिउँदो छ— एक दिन आउनेछ, जब नेपाली शिक्षा विश्वसँग काँधमा काँध मिलाएर उभिनेछ । त्यो दिन नआउञ्जेल, यो शरीरमा एक थोपा रगत बाँकी रहुञ्जेल, म यो यात्रामा निरन्तर हिँडिरहनेछु। सायद त्यो दिन, म आफ्नो कथा खुला पानामा लेख्नेछु र भन्नेछु, ‘यो केवल मेरो कथा होइन, यो समय, समाज र संघर्षको कथा हो ।’
भबतु सर्व मंगलम्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
