सोमवार , बैशाख २१, २०८३
पाल्पा, २१ वैशाख । वन डढेलो व्यवस्थापन सम्बन्धि सचेतीकरण कार्यक्रम पाल्पाको तिनाउ गाउँपालिकास्थित तिलोत्तमा माध्यमिक विद्यालयमा सोमबार झुम्सामा सम्पन्न भएको छ ।
वन डढेलोको अर्थ, यसका कारण, असर, नियन्त्रण, रोकथाम, व्यवस्थापन र विद्यार्थीको भूमिका सम्बन्धि विषयमा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले सहजीकरण गर्नुभएको थियो । भविष्यका कर्णधार रहेका विद्यार्थीलाई वन डढेलो व्यवस्थापन सम्बन्धि जानकारी दिदा वन जोगाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो ।
समापन कार्यक्रममा तिलोत्तमा माविका प्रधानाध्यापक झबिन्द्र ज्ञवालीले आफ्नो विद्यार्थीलाई डढेलो सम्बन्धि सहजीकरण गरिदिएकोमा आयोजक संस्थाप्रति धन्यवाद दिनुभयो । उहाँले सानैदेखि संरक्षणमुखी गतिविधिमा विद्यार्थीलाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद पाण्डेयले तिनाउमा घनाजंगल रहेको र डढेलोले घरिघरि समस्या ल्याउने गरेको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणमा विद्यार्थीको भूमिका गहन हुनुपर्ने बताउनुभयो ।
सहभागीहरुका तर्फबाट अञ्जली पुरी, सोमप्रसाद पाण्डेय, संस्थाका उपाध्यक्ष शेरजंग थापा, ईको शिक्षक खडक बहादुर रायमाझीले कार्यक्रमका बारेमा बोल्दै कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
सो विद्यालयमा कक्षा ८–१० सम्म अध्ययनरत् १ सय ५० जना विद्यार्थीको सहभागीता थियो । उक्त कार्यक्रमको सहयोगी निकाय डिभिजन वन कार्यालय, पाल्पा रहेको सामुदायिक वन समन्वय समितिकी सचिव सरिता गुरुङले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
