२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेल

आइतवार , कार्तिक १५, २०८३

  • 196
    Shares
  • 196
    Shares
  •  पोखरा, १५ कार्तिक । प्रकृति, संस्कृति र शाहसिक पर्यटनको अनुपम संगम पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ ।

    पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अगाडि बढाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यकाअनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट शुरु हुने उक्त ट्रेलले पोखराका नौवटै ताललाई आपसमा जोड्नेछ । साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत पोखराका सबै तालसम्म सहजै पुग्न सक्नेछन् । 

    आयोजना कार्यान्वयनमा आएपछि ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रसमेत चलायमान हुने महानगरको अपेक्षा छ । यसले पोखरा आउने पर्यटकको बसाइ अवधि कम्तीमा दुई दिन थप लम्ब्याउन विशेष भुमिका खेल्ने मेयर आचार्यले बताउनु भयो । उहाँकाअनुसार पर्यटकलाई फेवातालमा मात्रै सिमित नराखी पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पु¥याउन यो आयोजना महत्वपूर्ण हुनेछ । 

    पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकिएको उल्लेख गर्दै मेयर आचार्यले यहाँको प्राकृतिक सम्पदा, संस्कृति र शाहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएर आएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन् । 

    उहाँले भन्नुभयो, ‘पोखरा नेचर, कल्चर र एडभेन्चरको शहर हो । यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ । पोखरामा रहेका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुनेछ ।’

    मेयर आचार्यले निर्वाचनका बेला नै पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनको माध्यमबाट आपसमा जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । आफ्नो कार्यकालको अन्तिम चरणमा उक्त प्रतिवद्धताअनुसारको गौरवको आयोजना कार्यान्वयनको दिशामा अघि बढ्न लाग्दा आफू उत्साहित भएको उहाँले बताउनु भयो ।

    पोखराका ताल, प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने यो आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यसले स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमलाई समेत नयाँ अवसर सिर्जना गर्ने विश्वास महानगरले लिएको छ ।