बुधवार , बैशाख १६, २०८३
काठमाडौं, १६ बैशाख । देशका विभिन्न भागमा तिब्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च शतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टकाअनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन; मधेस प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा तिब्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।
यो मौसमी प्रणाली पश्चिमबाट शुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ । उहाँले हावाहुरी, मेघगर्जन र चट्याङ शुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न आग्रह गर्नुभयो ।
घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउनुपर्ने, तिब्र गतिको हावाहुरीले आगो उडाएर बस्ती वा वनजंगलमा डढेलो लाग्नसक्ने जोखिम रहेको बताउनु भयो । कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन सचेत गराइएको छ ।
यात्रा गरिरहेका व्यक्तिहरूले हावाहुरी शुरु हुनासाथ सुरक्षित स्थानमा सवारी साधन रोक्न आग्रह गर्नुभयो । रुख खसेर दुर्घटना हुनसक्ने भएकाले रुखमुनि सवारी साधन पार्किङ नगर्न सुझाइएको छ ।
हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणको आफ्नै मौसम निगरानी प्रणाली र टावरहरूले समन्वय गरिरहेको जानकारी दिइएको छ ।
मौसममा खराबी देखिएमा उडानको मार्ग परिवर्तन (रुट सिफ्ट) वा डाइभर्ट गरिनेछ । कार्यकारी प्रमुख भट्टले विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयम्सेवकहरूलाई ‘हाई अलर्ट’ मा राखिएको बताउनु भयो । कुनैपनि दुर्घटना भए तत्काल नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
उहाँले भन्नुभयो, ‘अब आज वैशाख १६ गते कञ्चनपुर, डडेल्धुरा, डोटी र त्यसको आसपासको जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासको जिल्ला, गण्डकी, वागमती प्रदेशका नवलपुर, चितवन लगायत आसपासको जिल्ला, मधेस प्रदेशका बारा, पर्सा, धनुषासहित आसपासको जिल्ला र कोशी प्रदेशको झापा र मोरङसहित आसपासको जिल्लामा तिब्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउनका लागि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
अनि मोडलिङ उहाँहरुले गर्नुहुन्छ उहाँहरुले हेर्नुहुन्छ उहाँहरुले त्यो मेसेज हामीलाई पठाउनुहुन्छ र त्यही हिसावले उच्चस्तरीय सतर्कता अपनाउनुपर्ने बेला भएपछि हामीले देशभरि नै यसका लागि अलर्ट जारी गर्छौँ । त्यही अलर्ट जारी गरेको अवस्था हो ।
अब यसमा के हुनसक्छ त भन्ने उसमा हामीले अहिलेको पूर्वानुमान के हो भनेपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित पानी पर्ने यो प्रणाली तपाईंको शुरुमा पश्चिमतिरबाट शुरु भएर क्रमशः पूर्वतिर सर्दै जाने भन्ने सम्भावना छ ।
यसले अब यो आसपासका जिल्ला भने पनि तपाईंको यो पहाडी जिल्ला र सबै र तराईको जिल्लाहरु सबैमा उहाँहरुले कलर गर्नुभाछ । शतर्क रहने अलर्टको कलर गरेर अहिले भर्खरै आएको यो भन्दा अगाडि आएको नोटिसमा त्यो छ । त्यही हिसावले हामीले के भनेका हौँ भनेपछि यी जिल्लाहरु र आसपासका जिल्ला भन्दै गर्दा खेरि पुरै तराई, मध्यपहाडी एरियाका सबै ठाउँहरुमा तीव्र गतिले हावाहुरी चल्ने, अब यो तिब्र गतिले हावाहुरी चल्नेका कारणले हुने असरहरु जे जे हुनसक्छ त्यसबाट सचेत रहनुप¥यो ।
त्यसैगरी यसमा मेघगर्जनसहित चट्याङ भनेको छ । चट्याङ अहिले धेरै क्षति गरिराको छ चट्याङले, मानवीय क्षति पनि धेरै गरिराको छ अनि त्यसैगरी पशु चौपायामा नि क्षति छ । त्यसो हिसावले चट्याङबाट पनि बच्न जोगिने उपाय गर्नुप¥यो भन्ने हिसावले हामीले यो सूचना जारी गरेका हौँ ।
अब यसमा जस्तो अब जतिबेला यो फेरि सबैमा एकै टाइममा हुने होइन, जस्तो तपाईंको एरियामा अहिले चट्याङ पर्न थाल्यो, बादल कालो भयो, मेघगर्जन शुरु भयो, हावाहुरी चल्न थाल्यो भने सबैभन्दा पहिले त घरभित्र गएर बस्दिनुप¥यो सुरक्षित स्थानमा । अनि त्यसैगरी घरभित्र बस्दै गर्दा पनि झ्यालढोका पनि बन्द गरिदिनुप¥यो ।
अनि अर्को तपाईंको यदि तपाईंको घरभित्र या बाहिर आगो बाल्नुभाछ भने त्यो त निभाहीहाल्नुप¥यो । त्यसले आगलागी गराउन सक्छ । घरलाई पनि जोखिम भो, अरु घरलाई पनि जोखिम हुन हुने यो तिब्र गतिको हावाहुरी छ । लगेर अर्को ठाउँमा वनजंगलमा आगो लगाइदिन सक्छ या हाम्रा खेतबारीका केही कुराहरु बाहिर हुन्छ त्यहाँ आगो लगाउन सक्छ ।
त्यसो भएको हुनाले बाहिर भएको आगो निभाहीदिनु प¥यो तत्कालै र घरभित्र आगो बाल्दा पनि झ्यालहरु, ढोकाहरु सबै राम्रोसँग बन्द गरेर निगरानीमा मात्रै । बालेर हाम्रो चलन छ नि त केही कुरा त्यसमा राख्दियो आफ्नो अरु काम तिर लाग्यो त्यसो होइन, हावाहुरी चलेका बेला एकदमै सचेत हुनुपर्छ भन्ने त्यो पनि हामीले सावधानीका लागि अनुरोध गरेका छौँ आम जनमानसमा । त्यसैगरी कमजोर लड्न सक्ने संरचनाको नजिक बस्दिनु भएन । अग्ला रुखहरु ढल्न सक्छन् जोडको हावाहुरीमा ।
बिजुलीको खम्बा, त्यसैगरी टेलिफोनको खम्बा र अरु कुनै खम्बाहरु छन् भने अरु सर्भिसेजको पनि त्यसको मुनी बस्नु भएन र बिजुलीको तार एक्कासि लत्रिन गयो भने त्यसबाट अलि टाढा बस्नु पर्यो छुनु भएन करेन्टले नोक्सान पु¥याउन सक्छ । त्यसैगरी अर्को यसमा के हुन्छ भने घरको छानोहरु जस्ताको पाताहरु लगायत अरु कुराहरु उडाएर पनि ल्याउन सक्ने भयो यसले स्पिड बढी आयो भने अनि त्यसबाट पनि जोगिनलाई आफू चनाखो बस्नुप¥यो ।
त्यही भएर हामीले घरभित्र बस्यौँ भने यी कुराहरुबाट जोगिन्छ भन्ने हिसावले भनेको हो र सँगसँगै अब यो अपडेट पनि भइरहनुप¥यो । किनभनेपछि एक्कासि कहिलेकाहीँ हामीले भनेकै ठाउँमा नभइकन अलि दायाँबायाँ तलमाथि पनि त यो त सिफ्ट हुनसक्छ बग्न सक्ने भयो । अनि त्यसो भएको हुनाले सबैतिर सतर्क पनि हुनुप¥यो र जल तथा मौसम विज्ञान विभागले हाम्रो अब २–२ घण्टामा पनि अपडेट दिइरहन्छ कहिलेकाहीँ, आवश्यक कुनै परिवर्तन आयो भने तुरुन्त पनि अपडेट दिन्छ ।
उहाँहरुको त्यो अपडेटहरु आइरहन्छ त्यो अपडेटसँग पनि जानकारी राखिराख्नुप¥यो र हामीले पनि कुनै आवश्यकता पर्यो भने अपडेट गर्छौँ त्यो पनि जानकारी राखिराख्नुप¥यो । र त्यसैगरी यो त भयो आम जनमानसका लागि, जुन हाम्रो सुरक्षा निकाय छ, त्यसैगरी जिल्ला विपद् व्यवस्थापन समिति छ सिडिओ साबको नेतृत्वमा, त्यसैगरी भोलन्टियर साथीहरु हुनुहुन्छ, त्यसैगरी कम्युनिटीमा काम गर्ने अर्गनाइजेसनहरु हुनुहुन्छ, सबैले शतर्कताका लागि हाम्रो सन्देश, त्यसैगरी डीएचएमको सन्देशलाई आम जनतासम्म पु¥याइपनि दिनुपर्यो र यो कारणले कुनै दुर्घटना हुन सक्छ है भनेर त्यो भइहालेमा प्रतिकार्य कसरी गर्ने भनेर पूर्वतयारीको अवस्थामा बसिराख्नुप¥यो । यो हाई अलर्ट जारी गरिएको सुरक्षा निकाय र जिल्लाहरुलाई पनि अलर्टमा बसिरहनलाई पनि हामीले सूचना जारी गरेको हो ।’
\\जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमको अद्यावधिक विवरण (अपडेट) सार्वजनिक गर्नेछ । स्थानीय स्तरमा विभिन्न भाषामा सूचना प्रवाह भइरहेकाले आधिकारिक समाचार र मौसम बुलेटिनको जानकारी लिइरहन समेत प्राधिकरणले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
