२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लुम्बिनी प्रदेशका ६ जिल्लामा पत्रकारले बनाए आइसोलेशन 

प्रदेशभरीमा ३८ जना पत्रकार संक्रमित

आइतवार , बैशाख २६, २०७८

बुटवल, २६ वैशाख   ।
नेपालमा कोभिड १९ (कोरोना भाइरस) को दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेका छन् । उनीहरुले स्थानीय तह, जिल्लास्थित संघ–संस्था र सहयोगीहरुमार्फत यस्ता आइसोलेशन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । 

संक्रमणको दर तीव्र रुपमा बढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि उनीहरुले यस्ता संरचना निर्माण गरेको बताए ।  नेपाल  पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले आइतबार एक विज्ञप्ती जारी गरी लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेशन निर्माण गरिएको हो । अर्घाखाँची शाखामा भने अन्य संघ–संस्थाको सहकार्यमा संयुक्त रुपमा आइसोलेशन निर्माण गरिएको हो । 

दाङ शाखाले निर्माण गरेको आइसोलेशन ६ बेडको रहेको भने अन्य जिल्ला शाखाले निर्माण गरेका आइसोलेशनहरु ५ बेडका रहेका छन् । जिल्ला जिल्लामा संक्रमितहरुको संख्या बढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ–संस्थाको सहयोगमा संरचनाहरु निर्माण भएको महासंघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए । ती आइसोलेशन पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा बनेको भए पनि अन्य सर्वसाधारणहरुलाई उपयोग गर्न सकिने छ । यस्ता संरचना निर्माण गर्दा अक्सिजन र स्वास्थ्यकर्मीहरुको भने अभाव रहेकोले सहयोग समन्वयका लागि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिलेसम्म ३८ जना पत्रकारहरु परेका छन् । उनीहरुमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना रहेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने बाँकी पत्रकारहरुले होम आइसोलेशनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।  
त्यस्तै बाँकेमा १२ जना संक्रमित रहेका छन् । उनीहरुमध्ये केहीले अक्सिजनको सहायतामा उपचार गरिरहेका छन् । त्यस्तै दाङ जिल्लामा ४ जना पत्रकारहरु संक्रमित भएका छन् । त्यसमा एक जनाको गम्भिर अवस्थामा भैरहवामा उपचार भइरहेको छ ।
त्यस्तै बर्दियामा ४ जना, पाल्पामा २ जना, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना संक्रमित रहेका छन् ।  उनीहरु सबैको स्वाथ्य लाभको कामना गर्दै आवश्यकता अनुसार उपचारको प्रबन्धका लागि सबैसंग आवश्यक समन्वय जिल्ला शाखामार्फत गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जनाएको छ । यसबाहेक पनि फिल्डमा खट्ने पत्रकारलाई सुरक्षाका सामग्री वितरण गर्ने, संक्रमितको मनोबल बढाउने, अक्सिजन उपलव्ध गराउनेदेखि अस्पतालमा बेडको प्रबन्ध गर्न निरन्तर खट्ने शाखाका अध्यक्ष लगायतको कार्यसमिति प्रति पनि उच्च सम्मान गर्दर्छौ, महासघको विज्ञप्तीमा भनिएको छ ।

यस्तो महामारीका बेला अत्यन्तै सुरक्षित ढंगले आफ्नो पेशागत धर्म निभाउनुपर्ने  दायित्व पत्रकारहरुका बीचमा रहेको भन्दै अबिचलित ढंगले आफ्नो कर्ममा खटिरहनु भएका पत्रकारसंगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य कर्मचारीहरु पत्रकार महासंघ प्रदेश समिति हार्दिक नमन गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।