२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

तिलोत्तमाले कक्षा १ देखि १२ सम्म अनिवार्य १० प्रतिशत छात्रवृत्ति लागू गर्ने

शुक्रवार , बैशाख ४, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • तिलोत्तमा, ४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यही शैक्षिक सत्र २०८३ देखि संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको छ । नगरपालिकाको शैक्षिक क्षेत्रको सुधार योजना अन्तर्गत शैक्षिक सत्र २०८३ देखि कार्यान्वयन हुने गरी संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन गर्ने भएको हो । 

    नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी नगरपालिकामा रहेका ४२ संस्थागत विद्यालयमा झण्डै २ हजार ३ सय सय बढी विद्यार्थीले छात्रावृत्ति प्राप्त गर्ने जनाएको हो । 

    नगरप्रमुख रामकृष्ण खाणले कार्यदल गठन गरी सामूदायिक र संस्थागत विद्यालय सुधारका लागि कार्यदल गठन गरी छात्रवृति कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उहाँले कक्षा १ देखि १२ सम्म एकीकृत परीक्षा लिएर छात्रवृत्ति कार्यान्वयन गर्नेमा तिलोत्तमा पहिलो पालिका रहेको दावी गर्नुभयो ।

    नगरपालिकाले गत माघ २८ मा कार्यदल गठन गरी शिक्षा क्षेत्रका सरोकारवाला पक्षसँग व्यापक छलफल गरी दिएको सुझावका आधारमा सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान र संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि तयार पारेको छ । सोही आधारमा नगरपालिकाले छात्रवृति लागू गर्नेछ ।  

    नगरपालिकाले जेहेन्दार विद्यार्थी, विपन्न, आदिवासी जनजाति/थारू २० प्रतिशत, दलित १५ प्रतिशत, मधेशी–मुस्लिम–अल्पसंख्यक–अपांग १० प्रतिशत र अन्य १५ प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ । 

    साथै सामुदायिक विद्यालय समायोजन समेत गरिएको छ । तिलोत्तमाले ६ वटा विद्यालय र ७ वटा विद्याललयमा तह मिलान गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गरिएको बताए । विद्यालय समायोजन र तह मिलान गर्दा प्रत्यक्ष ५० लाख आर्थिक बचत भई बढी विद्यार्थी भएका विद्यालयमा लगानी गर्न सकिने उहाँले बताउनुभयो ।

    परीक्षालाई व्यवस्थित गर्न नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समिति, नगरस्तरीय छात्रवृत्ति परीक्षा सञ्चालन समिति र वडास्तरीय छात्रवृत्ति सहजीकरण समितिको व्यवस्था राखिएको छ ।

    कार्यपालिका सदस्य विपद तथा वातारण समितिका संयोजक सुरेन्द्र श्रीले तिलोत्तमाले शिक्षालाई व्यवस्थित बनाउन कार्यदल मार्फत कार्यविधि बनाएर सुधार गर्ने उदेश्यले काम गरेको बताउनुभयो । 

    त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य रवि सेन्चुरीले आफूहरुले निकै मेहनत गरेको बताउँदै यसले शिक्षामा ठूलो सुधार गर्ने बताउनुभयो । 

    सो अवसरमा वडा नम्बर ६ का वडाअध्यक्ष गणेश पाठक, शिक्षा शाखा प्रमुख (उपसचिव) गंगाराम आचार्य, शिक्षा शाखाका धनी प्रसाद शर्मा लगायतको उपस्थिति थियो ।