बुधवार , बैशाख २, २०८३
भैरहवा, २ वैशाख । रुपन्देहीको भैरहवाका एकजना युवाले आफ्नो जन्मदिनमा मृगौलाको बिरामीलाई आर्थिक सहयोग गर्नुभएको छ । सिद्धार्थनगर नगरपालिका–७ का चन्द्रप्रकाश काफ्लेले सोही वडाकी मीना शर्मालाई मंगलबार ११ हजार रुपैयाँ प्रदान गर्नुभएको हो । शर्माले मृगौला सम्बन्धी रोगको उपचार गराइरहनुभएको छ ।
वि.सं. २०४८ साल वैशाख १ गते जन्मनुभएका काफ्ले पेशाले चार्टर एकाउन्टेन्ट (सीए) हुनुहुन्छ । चन्द्रप्रकाश काफ्लेको आमा तथा सिद्धार्थनगर नगरपालिकाको निवर्तमान उपप्रमुख उमा काफ्लेले छोराको जन्मदिनमा दुईजनालाई सहयोग गर्ने सोच भए पनि एकजनालाई मात्र गर्न सकिएको बताउनुभयो । उहाँले सिद्धार्थनगर नगरपालिका–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी मृगौलासम्बन्धी रोगको उपचार गराउने क्रममा भैरहवाबाहिर रहनुभएको र उहाँ फर्केपछि सहयोग रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो । ‘बुवा–आमाको लागि सबैभन्दा ठूलो सम्पत्ति अशल र कुशल सन्तान नै हो, अर्को सम्पत्ति स्वास्थ्य र तेस्रो सम्पत्ति सुसम्बन्ध हो ’उहाँले भन्नुभयो ।
त्यस्तै चन्द्रप्रकाशको बुवा टंक नाथ काफ्लेले आफूले पाउने सामाजिक सुरक्षा भत्ता आर्थिक अवस्था कमजोर भएकालाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गर्दै आएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, साहित्यकार, समाजसेवी लगायतको उपस्थिति थियो ।
काफ्ले परिवारले नगरका विभिन्न विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij