२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

मिथिलाको जुड शीतल पर्व

बुधवार , बैशाख २, २०८३

  • 52
    Shares
  • 52
    Shares
  • जनकपुर, २ बैशाख । मिथिला र मधेस आज जुड शीतल पर्व मनाइँदैछ । 

    मिथिला र मधेस क्षेत्रमा मनाइने चाडपर्वहरू प्रकृति, सामाजिकता, भाइचारा र सहअस्तित्वको अभ्याससँग गहिरोसँग जोडिएका छन् । छठ, चौरचन र होली जस्तै ‘जुड शीतल’ पनि प्रकृतिसँग नजिक भएर मनाइने एक महत्वपूर्ण पर्व हो ।

    नयाँ वर्षको दोस्रो दिन मनाइने यस पर्वमा उमेरमा सानाहरूलाई ठूला–बडाले टाउकोमा पानी खन्याएर आशीर्वाद दिने र अनुहारमा माटो लगाएर खुशी साटासाट गर्ने परम्परा छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाकाअनुसार अनुहारमा लगाइने माटोले कुनै जात, लिङ्ग वा धर्म भन्दैन, यसले केवल सिङ्गो समाजलाई बुझाउँछ । यो पर्वले सामाजिक सद्भाव र समानताको सन्देश दिन्छ । गर्मीयामको शुरुवातसँगै इनार, पोखरी र तलाउहरू सफा गर्ने र जल सञ्चय गर्ने उद्देश्य यस पर्वले बोकेको छ ।

    स्थनीयहरुकाअनुसार प्रकृतिसँगको सम्बन्धलाई नवीकरण गर्ने यो एक उत्सव पनि हो । जनकपुरधामको माटोको आफ्नै ऐतिहासिक गरिमा छ । यही माटोबाट माता सीताको उत्पत्ति भएको थियो ।

    जसका कारण यहाँका बासिन्दाहरू आफूलाई गौरवान्वित महशुस गर्छन् । हजारौँ वर्षदेखि चलिआएको यो संस्कृति केही समय ओझेलमा परे पनि विगत ७–८ वर्षदेखि यसलाई पुनः संस्थागत रूपमा प्रवद्र्धन गर्न थालिएको उनीहरु बताउँछन् । 

    जीव पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु र आकाश) बाट बनेको मानिन्छ । माटोले शरीरलाई शीतलता प्रदान गर्ने भएकाले बढ्दो गर्मीबाट बच्न यसको विशेष महत्व छ । पहिले–पहिले यसलाई ‘धुर्खेल’ (धुलो वा माटोको खेल) पनि भनिन्थ्यो । विशेष गरी ससुराली वा आफन्तको घरमा जाँदा कादो–माटोले खेलेर रमाइलो गर्ने चलन थियो ।

    पूर्खाहरूले घर–घरमा सबैलाई ‘जुडाउने’ (शीतल बनाउने) काम गर्दथे । हाम्रो आयु तिमीलाई लागोस् भन्दै ठूला–बडाले तिल मिसाएको जलले टाउकोमा अभिषेक गर्ने परम्पराले आत्मीयता र आशीर्वादको महत्वलाई झल्काउँछ ।