सोमवार , चैत्र ३०, २०८२
भैरहवा, ३० चैत । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लब पनि ‘ए’ डिभिजनमा उक्लिएको छ । ‘बी’ डिभिजनको सोमबारको खेलमा स्टार क्रिकेट क्लबलाई ४१ रनले हराउँदै देवदह ‘ए’ डिभिजनमा बढुवा भएको हो । यसअघि बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा बढुवा प्रवेश भइसकेको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले ४९ ओभर ५ बलमा सबै विकेटको नोक्सानीमा १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ४१, सुरज खड्काले ३५, संकेत भट्टराईले २८ र शशिधर टण्डनले १२ रन बनाए । बलिङमा स्टारका तुलबहादुर थापाले ३ तथा फैजन खान, शुभम खनाल र सिद्धार्थ ढकालले समान २–२ विकेट लिए ।
जवाफी बयाटिङ गरेको स्टार ४५ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३१ रनमै रोकियो । उसका लागि शुभम खनालले ३२, समिप पौडेलले २२, कृष्ण विक र विन्दराम यादवले समान १९–१९ तथा तुलबहादुर थापाले १० रन बनाए।
बलिङमा देवदहका कृष्ण पराजुलीले ४ तथा सुदीप अर्याल र कृष्ण कार्कीले समान ३–३ विकेट हात पारे । खेलमा कृष्ण कार्की प्लेयर अफ द म्याच घोषित भइ १ हजार २ सय रुपैयाँ हात पारे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा र म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।
त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij