सोमवार , चैत्र ३०, २०८२
भैरहवा, ३० चैत । प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेलले अहिलेको सरकारले जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम गरिरहेको बताउनुभएको छ । उहाँले जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
महिला तथा बाल अधिकार सञ्जाल जिल्ला सञ्जाल, रुपन्देहीले सोमबार बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘हामीले जनताबाट पाँचवर्ष काम गर्ने म्याण्डेट पाएका छौं । आफ्नै जीवनकालमा केही परिवर्तन भएको देख्न पाउनुहुनेछ । आउने पिढीका तथा महिला, बालबालिका, किशोरी, ज्येष्ठ नागरिकले दुःख नपाउने गरी सरकारले नीति बनाउनेछ, ’उहाँले भन्नुभयो । सरकारले गर्ने १ सय दिनका १ सय कार्य प्राथमिकता राख्दै दु्रतगतिमा अगाडि बढेको उहाँको भनाइ छ ।
प्रतिनिधि सभा अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको सदस्य समेत रहनुभएकी पौडेलले महिला तथा बाल अधिकार सञ्जाल जिल्ला सञ्जाल, रुपन्देहीलाई अझ सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्जालले ‘वाचडग’ को रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद् पौडेलले महिला, बालबालिका, किशोरी, युवाले भोग्नुपरेको यमस्या र नीतिगत पहलबारे सुझाव समेत लिनुभएको थियो ।
त्यस्तै महिला तथा बाल अधिकार सञ्जाल, रुपन्देहीको अध्यक्ष समिता मल्लले सञ्जालको संस्थापक अध्यक्ष ज्ञानु पौड्याल नीति, नियम बनाउने ठाउँमा पुग्नुभएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘संस्थापक अध्यक्ष तथा सल्लाहकारलाई माननीयको रुपमा पाउँदा निकै खुसी छौं, महिला तथा बालअधिकारबारे जोडदार रुपमा आवाज उठाउन म आग्रह गर्दछु, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा सञ्जालका सचिव अधिवक्ता सुनिल त्रिपाठी लगायतले भनाइ राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञानु पौडेललाई सम्मान गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij