२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

होटल पौवामा ‘स्वाद उत्सव’ सुरु, चैत २८ सम्म चल्ने

बिहिवार , चैत्र २६, २०८२

  • 598
    Shares
  • 598
    Shares
  • भैरहवा, २६ चैत । होटल पौवा प्रा.लि.ले आफ्नो १० औं स्थापना दिवसको अवसरमा स्वाद उत्सव आयोजना गरेको छ । नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश–विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिदै आएको होटल पौवाले १० औँ वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा ‘स्वाद उत्सव’ कार्यक्रम आयोजना गरेको हो ।

    भैरहवा शाखामा आयोजित स्वाद उत्सवको बिहीबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख खाँले होटल पौवाले नाम कमाएको बताउनुभयो । उहाँले पौवाले स्वस्थकर खाना सेवा प्रदान गरेकोले यो होटल ग्राहकको रोजाइ बनेको बताउनुभयो । ’पौवाको खाना राम्रो र स्वस्थकर छ, होटलले थोरै नाफामा राम्रो काम गरिरहेको छ, ’उहाँले भन्नुभयो । उहाँले कर्मचारीको मिहिनेतले संस्था अगाडि जाने भएकाले कर्मचारीको विशेष भूमिका रहने बताउनुभयो ।

    शुभ ओम कम्पनी प्रा.लि.का सञ्चालक घनश्याम यादवले होटल पौवामा आएर खानेकुराका परिकारको स्वाद लिइ सुझाव दिन आग्रह गर्नुभयो । 

    होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान खरेलले स्थापना दिवसको अवसरमा बुधबार प्रभातफेरी र सामाजिक उत्तरदायित्वलाई बहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो । उहाँले चैत २६ देखि २८ गते (तीन दिनसम्म) बिहान ११ देखि बेलुकी ५ बजेसम्म स्वाद उत्सव कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । स्वाद उत्सव नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आदानप्रदान गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
    कार्यक्रममा होटल पौवा भैरहवा शाखामा कार्यरत विशेष मगरलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
    ‘स्वाद उत्सव’ कार्यक्रममा सहभागी भइ नेपाली स्वाद र आतिथ्यको अनुभव लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई आमन्त्रण समेत गरेको छ ।

    रुपन्देहीको सालझण्डीस्थित सानो घरको ७ कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका बिभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखामार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ । ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

    स्थापना दिवसकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा यही शनिबार भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ । 

    एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो । ‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्राण्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान खरेलले बताउनुभयो । ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेको छ । 

    होटल पौवा सञ्जालमा हाल झण्डै १ हजार भन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागीता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।

    नेपाली कला संस्कृति र परम्परालाई विविध कार्यक्रमहरु मार्फत प्रबद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि विशेष कार्यक्रमसहित गर्ने तयारी गरेको महाप्रबन्धक खरेलले जानकारी दिनुभयो । नयाँ वर्षको स्वागतमा चैत्र ३० गतेको साँझ पौवाका अधिकांश शाखाहरुमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांगीतिक कार्यक्रमसहित ‘शुभकामना साँझ–२०८३’ आयोजना हुने उहाँले बताउनुभयो ।

    होटल पौवाले नेपाली मौलिक परम्परामा आधारित विभिन्न चाडपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । खरेलका अनुसार दशैपछिको पूर्णिमाको सराय नाच, तिहारको देउसीभैलो, माघीको खिचडी, महाशिवरात्री जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितिमा पौवाका शाखाहरुमा विशेष उत्सव हुने गरेको छ ।