२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

दाङमा आज एकैदिन ३ सय बढीमा कोरोना संक्रमण

शुक्रवार , बैशाख २४, २०७८

दाङ, २४ वैशाख । 
लकडाउन जारी रहे पनि दाङमा कोरोना संक्रमित थपिने दर कम हुन सकिरहेको छैन् । दाङमा आज एकैदिन ३ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५ सय १५ जनाको परीक्षणमा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेहरुमा तुलसीपुरका १५६, घोराहीका १३४, लमहीका ७, दंगीशरणका ६, बबईका ३, राप्ती र बंगलाचुलीका २÷२ जना र राजपुर र गढवाका एक÷एक जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

जिल्लामा अहिले १ हजार ८ सय ६० जना संक्रिय संक्रमित रहेका छन् भने वैशाखयता कुल संक्रमितको संख्या २ हजार ७ सय २३ जना पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

जिल्लामा आज १७८ जना निको भएका छन् । यो संगै वैशाखयता जिल्लामा ८ सय ७३ जना संक्रमित निको भएका छन् जिल्लामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो संगै बैशाखयता कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

दाङमा एक हप्ता लकडाउन थप

दाङमा एक हप्ता लकडाउन थप गरिएको छ । कोरोना महामारीको संक्रमण तीव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई आउँदो जेठ १ गतेसम्म थप गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

यस अघि गएको वैशाख १७ गते विहान ६ बजेदेखि शनिबार २५ गते बेलुका ६ बजेसम्मका लागि लकडाउनको समय तोकिएको थियो । जिल्लामा दैनिक सयौंको संख्यामा कोरोना संक्रमतिहरु थपिदै गएका छन् ।