२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

रुपन्देही प्रशासनद्वारा ५३८ वटा अक्सिजन सिलिण्डर संकलन

शुक्रवार , बैशाख २४, २०७८

भैरहवा, २४ वैशाख।
रुपन्देहीमा अक्सिजनको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले अक्सिजन प्रयोग हुने उद्योगहरुबाट अक्सिजन सिलिण्डर संकलन थालेको छ । जिल्लामा रहेको १२ वटा स्टिल उद्योगहरुमध्ये ८ वटा स्टिल उद्योगहरुबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

संकलन गरिएको सिलिण्डरमा केही भरिएका थिए भने केही खाली थिए । संकलन गरिएको अक्सिजन सिलिण्डरमध्ये युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवालाई १ सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको उनले बताए ।

बाँकी रहेका अन्य सिलिण्डरहरुलाई सम्बन्धित स्थान अक्सिजन भर्नका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । रुपन्देहीमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन सिलिण्डरको अभाव भएको छ ।  यसैलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उद्योगहरुबाट अक्सिजन संकलन थालेको हो ।