२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकाससम्बन्धी अभिमुखीकरण

मंगलवार , चैत्र १०, २०८२

  • 247
    Shares
  • 247
    Shares
  • बुटवल, १० चैत । जागरण मिडिया सेन्टरले बुटवल उपमहानगरपालिकाका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न गरेको छ।

    बुटवल उपमहानगरका कार्यपालिका सदस्य तथा १९ वटै वडाका निर्वाचित दलित महिला सदस्यहरुसँग अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा संविधान सभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित महिला जनप्रतिनिधिले केही गर्न सकेनन् भन्ने प्रश्न उठ्ने गरेको अवस्थामा आगामी कार्यकाललाई अझ प्रभावकारी बनाउन कार्यक्रम गरिएको बताउनुभयो । उहाँले दलित महिला जनप्रतिनिधिको उपस्थित संविधानले ग्यारेण्टी गरेकाले सम्भव भएको बताउँदै आफ्नो संवैधानिक भूमिकालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा संवैधानिक तथा कानूनी प्रावधान, दलित जनप्रतिनिधिको भूमिका, नगर सभामा सदस्यहरुको भूमिका तथा एजेण्डा प्रस्तुतीकरण, बजेट तर्जुमा, जनप्रतिनिधिको मिडियासँगको सम्बन्धका बारेमा प्रस्तुती राखिएको थियो भने जनप्रतिनिधिहरुले हालसम्मको अनुभव समेत प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा वरिष्ठ अधिवक्ता शिव गौडेलले वडामा निर्वाचित दलित महिला सदस्य र कार्यपालिका सदस्यहरुको भूमिका, संवैधानिक रुपमा समावेशिताको सवाल, कार्यपालिका र नगरसभामा प्रस्तुत गरिने मुद्दा र एजेण्डा, समुदायका लागि दलित जनप्रतिनिधिको भूमिकाका बारेमा प्रस्तुती राख्नुभएको थियो । 

    त्यसै गरी जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले संविधानमा दलित अधिकार र जनप्रतिनिधिको भूमिका तथा विनोद परियारले जनप्रतिनिधिको मिडियासँगको सम्बन्धका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

    अभिमुखीकरण कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, कृष्ण बहादुर सुनार, सुनिता खण्डलुक र बसन्ती विश्वकर्माले आफूहरुले दलित समुदायका लागि विभिन्न सीपमुलक र क्षमता विकासका कार्यक्रमका लागि बजेट छुट्याएको बताउँदै आगामी दिनमा पनि थप कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    WhatsApp Image 2026-03-24 at 16.30.15.jpeg

    जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले जनप्रतिनिधिहरुसँग समुदायले ठूलो अपेक्षा गरेको बताउँदै समाजको पिँधमा रहेको समुदायको पक्षमा काम गर्न जनप्रतिनिधिको ध्यानार्कषण गराउनुभयो ।

    दलित महिला सदस्यहरुले आफूहरुले पछिल्लो समयमा कार्यवाहक वडाअध्यक्षको भूमिका पाएको, दलितका लागि बजेट छुट्याउने र कार्यक्रम गर्ने गरेको सुनाएका थिए । तर, कतिपय ठाउँमा जनप्रतिनिधिलाई नै पूजा, विवाह जस्ता कार्यक्रममा नबोलाउने, जातीय भेदभाव गर्ने गरेको गुनासो समेत सुनाए ।

    बुटवल उपमहानगरभित्र १९ वडामा १९ जना दलित महिला सदस्य र ४ कार्यपालिका सदस्य दलित समुदायका रहेका छन् ।